सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ चलचित्र ‘ककाकिकी’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति भदौ १९ तोकेको छ । पोस्टरमा चलचित्रका मुख्य चार कलाकारको लुक्स समेत सार्वजनिक गरिएको छ । जसमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी क्यारेक्टर लुक्समा देखिएका छन् ।

पोस्टरमा देखिएको कलाकारहरूको अनौठो अवतारले चलचित्रको कथालाई सस्पेन्स बनाएको छ । पोस्टर मात्र हेर्दा धेरै आकलन गर्न सकिन्छ, साथै फिल्मको कथा रहस्यमय रहेको बुझ्न सकिन्छ । त्यसो त निर्माण टिमले चलचित्रको घोषणा गर्दा नै कलाकारहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो, त्यो समयबाटै चलचित्र प्रति दर्शकको चासो निकै बढेको छ ।

चलचित्रलाई बिक्की अगरवाल र श्रद्धा प्रसाईँले संयुक्त रूपमा निर्देशन गरेका हुन् भने अनीश बुढाथोकी सहायक निर्देशक हुन् । चलचित्रमा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोग लगायतको पनि अभिनय छ ।

सुमन अगरवालको कन्सेप्ट रहेको चलचित्रको लेखन बिक्की अगरवाल, विकास अर्याल र सरोज भण्डारी र बिश्वास तिमल्सिनाले गरेका हुन् । चलचित्रलाई सुदिप बरालको टिमले खिचेको हो । चलचित्रको टाइटल आर्टस् ट्राइडेन्ट कन्सेप्टको हो भने पोस्टर डिजाइनको काम कार्यालयले गरेको हो ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com