सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –अभिनेता जितु नेपाल द्वारा निर्माण गरिएको चलचित्र ‘आइ एम जीत बहादुर’ को प्रदर्शन मिति तय गरिएको छ। फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो। केही समयअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोष को निर्देशनमा तयार भएको यस फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ। फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन्।

यसका साथै फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ। कलाकारहरूको यस्तो संयोजनले फिल्मप्रति दर्शकको उत्साह अझ बढ्ने निर्माण टिमको विश्वास छ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा जोडिएका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।

सुभेन्दु घोषकै कथा तथा निर्देशनमा बनेको ‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। अभिनेता जितु नेपालले तीन दशकभन्दा बढीको कलाकारिता यात्रामा दर्जनौँ चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरिसकेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com