सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा आयोजना हुन लागेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को प्री–इभेन्ट राजधानी काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभा हलमा सम्पन्न भएको छ। महोत्सव आगामी वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ।

प्री–इभेन्ट कार्यक्रममा अफिसियल सेलेक्सनमा परेका १७ वटा चलचित्रलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी लगायत विभिन्न चलचित्रकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। ‘हिमाल, पहाड, तराई—कोही छैन पराई’ भन्ने मूल नारासहित गाउँ–गाउँमा नेपाली सिनेमा पुर्‍याउने उद्देश्यले यसअघि गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा महोत्सव आयोजना भइसकेको छ। यसपटक भने महोत्सव पहिलोपटक तराई क्षेत्रमा हुन लागेको हो।

सेलिब्रेटी नेपालका अध्यक्षसमेत रहेका सापकोटाका अनुसार ग्रामीण कथा र मधेशी संस्कृतिमा आधारित चलचित्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले सर्लाहीमा महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवका लागि ग्रामीण कथावस्तुमा आधारित फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका ५० भन्दा बढी चलचित्र आवेदन परेका थिए, जसमध्ये १७ वटा चलचित्र छनोट गरिएको हो। महोत्सवमा प्रदर्शन हुने सबै चलचित्र दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन्।

फिचर फिल्मतर्फ ‘सिटामोल’, ‘कोशेढुंगा’, ‘माइतीघर’, ‘मोहर’ र ‘गुन्युचोलो’ छनोटमा परेका छन्। अफिसियल सेलेक्सनको प्रमाणपत्र ग्रहण गर्न सम्बन्धित चलचित्र टोलीहरूको सहभागिता रहेको थियो।

नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउने, नियमित रूपमा चलचित्र हेर्ने संस्कारको विकास गर्ने, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए। पाँचौँ संस्करणसम्म आइपुग्दा महोत्सवले आफ्नो प्रतिष्ठा अझ उँचो बनाएको उनको दाबी छ।

महोत्सवमा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाबीच सहकार्य रहेको छ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com