सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ लाई बादी समुदायले आफ्नो कथा देखाएको भन्दै प्रशंसा गरेका छन् । चलचित्रको मुख्य कथा आमा र छोरीको रहेको रहेकाले पनि बादी समुदायको भावनामा ठेस पुगने वा अपमान हुने कुनै पनि विषय वा प्रसंग फिल्ममा नरहेको देवीसरा वादीले बताइन । काठमाडौँमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा सरादेवीले आफ्नो संस्थाका महिलालाई फिल्म देखाउने बताइन ।
उनले भनिन्, ‘हामीले फिल्म हेरिसकेका छौँ । केही शब्दमा हाम्रो आपत्ति थियो, त्यो निर्माण पक्षले हटाउनुभयो, हामी कृतज्ञ छौँ । यो कथाले वा लालीबजार चलचित्रले हाम्रो समुदायको भावनामा ठेस पुर्याउने कुनै काम गरेको छैन । उल्टै यसमा हाम्रो सङ्घर्ष र विन्द्रोहको कथा देखाइएको छ । यसले हामीलाई हाम्रो अधिकारको लागि लड्न झनै हौसला दिएको छ ।’
उनले चलचित्रमार्फत आफ्नो लागि लड्न प्रेरित गर्ने आमाको कथा देख्न पाइने बताइन । यस्तै, बादी समुदायका अभियन्ताको रुपमा परिचित हिक्मत बादीले पनि फिल्म हेरेपछि समुदायको भावनालाई ठेस पुग्ने कुनै आशय ‘लालीबजार’ मा नरहेको प्रस्ट्याए ।
उनले भने,‘यो तराईको आमाको कथा हो । हामीलाई आपत्ति लागेको शब्द हटाएपछि चलचित्रलाई लिएर आपत्ति मान्नुपर्ने, रोक्नु पर्ने कुनै कारण छैन । हामीले हाम्रो विरुद्ध भएको शोषणको आवाज अब उठाउने बेला आएको छ, हामीले सडकमा उठाईरहेका छौँ । चलचित्रल्ममा पनि कलाका मध्यमले हाम्रो विरोधको आवाज सुनिन थालेको छ, यसमा नराम्रो छ भन्ने मलाई लाग्दैन ।’
उनले चलचित्रमा साशक र सोशकबाट आमाले बचाउन गरेको सङ्घर्षले बादी महिलासँगै अन्य समुदायका महिलालाई पनि अन्याय विरुद्ध लड्न बल दिने बताए । जबसम्म लुकेको घाउ देखाइँदैन, तबसम्म डाक्टरले उपचार गर्न नसक्ने रमा बादीले बताइन ।
‘हामी चलचित्र हेर्ने मनसायले आएका थिएनौं, हामी हाम्रो सरकारसँग गरिएको सम्झौता किन कार्यन्वयन भएन् भनेर सिंहदरबार पुगेका थियौँ । त्यहाँ हाम्रो समुदायको कथामा फिल्म बनेको छ भन्ने थाहा पाएपछि हामीले हेरेका हौँ । हामीले हाम्रो राय पनि दिईसकेका छौँ । यो फिल्म मूलतः आमा र छोरीको कथा हो । शासकले शोसन गरेको आमाले आफ्नो छोरीका लागि लड्ने लडाई हामी सबैका लागि प्रेरणा छ । यो हाम्रो आमाको कथा हो, जसले हाम्रो लागि लडीन्’, उनले भनिन् ।

यस्तै, उक्त पत्रकार सम्मेलनमा सहभागी पदम राना बादी, रमेश गन्दर्भ बादी लगायतले पनि फिल्म हेरिसकेको र समुदायलाई आपत्ति हुने कुनै दृश्य र संवाद नरहेको बताए ।
यस्तै, राय र सुझावका आधारमा केन्द्रीय चलचित्र जाँच समितिले ‘लालीबजार’ लाई सबैले हेर्न मिल्ने गरी ‘युनिभर्सल’ सर्टिफिकेट दिदै पास गरिसकेको छ । ‘लालीबजार’ अघि नै बादी समुदायको कथामा फिल्म ‘पण्डित बाजेको लौरी’ सहित दुई उपन्यासहरु ‘नथिया’, ‘ऐलानी’ प्रदर्शन तथा प्रकाशन भइसकेका छन् । सेन्सर बोर्डबाट पास भइसकेकाले यो फिल्मले बादी समुदाय लगायत कुनै पनि जात, धर्म, वर्ण, क्षेत्र, सम्प्रदायका मानिसहरुको मान मर्यादा, इज्जत–प्रतिष्ठा र आत्म सम्मानमा आघात पुग्ने, कसैप्रति घृणा, द्वेष वा वैमनस्यता उत्पन्न गर्ने, साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता कार्य नगरेको सहजै बुझ्न सकिन्छ ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष उदय कुमार ईङ्नामद्वारा मंगलबार जारी विज्ञप्तिमा फिल्म केवल मनोरञ्जनको साधन मात्र नभई विचार र अभिव्यक्तिको स्वतन्त्रताको सशक्त माध्यम भएको उल्लेख गरिएको छ। करोडौँ रुपैयाँको लगानी र सयौँ प्राविधिक तथा कलाकारहरूको वर्षौँको मेहनतबाट निर्माण भएको फिल्मलाई प्रदर्शनको अन्तिम तयारीमा रहँदा अवरोध सिर्जना हुनुले समग्र उद्योगलाई नै सशंकित बनाएको संघको ठहर छ।
राज्यको वैधानिक निकाय ‘केन्द्रीय चलचित्र जाँच समिति’ ले प्रदर्शनका लागि अनुमति दिइसकेको अवस्थामा अदालतमा रिट दर्ता हुनुले स्वतन्त्र लगानीकर्ता र सर्जकको मनोबल कमजोर पार्ने विज्ञप्तिमा जनाइएको छ।
‘प्रदर्शनको मुखमा आएर फिल्मलाई रोक्ने वा प्रभावित पार्ने मनसायले रिटको प्रक्रिया सुरु हुनुले लगानीकर्ताको आत्मबल कमजोर बनाउने र सिर्जनशीलतालाई कुण्ठित गर्ने जोखिम रहन्छ,’ विज्ञप्तिमा भनिएको छ।
संघले विधिको शासन र न्यायपालिकाप्रति पूर्ण निष्ठा व्यक्त गर्दै सिर्जनामाथिको बन्देज वा अवरोध हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरेको छ। फिल्मको मर्म, लगानीको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतालाई मध्यनजर गर्दै ‘लालीबजार’ निर्बाध रूपमा प्रदर्शन हुने वातावरण निर्माण गरिदिन संघले अदालत र सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ। फिल्मको प्रदर्शन मिति आगामी वैशाख १८ गतेलाई तोकिएको छ ।







प्रतिक्रिया