सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जेठ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मितज्यु’ प्रदर्शनको संघारमा छ। पुरानो मितेरी साइनोको शिर्षक यो चलचित्र देखिन्छ। किनभने नेपालमा मित लगाउने क्रम विस्तारै हराउँदै गएको आभास हुन्छ किनभने यो शब्द नै पछिल्लो समय कम सुनिन्छ। ८ वर्षअघि नै यस चलचित्रका निर्माता जनक घर्ती मगर,निर्देशक अनिल मगरले यो फिल्मको परिकल्पना गरेका थिए। उनीहरुले यस चलचित्रका लागि कलाकारमा दयाहाङ राईलाई छनोट गर्ने निधोमा थिए। नभन्दै उनीहरुले नाटकमा अभिनय गरिरहेका र चलचित्रमा पनि उतिकै व्यस्त रहेका दयाहाङलाई सुनाए। उनले यो कथा मन पर्यो।

तर समयमा यो चलचित्रको काम गर्न पाएनन्। अझ भनौँ यो चलचित्रको कथामा उनीहरुबीच सहकार्य गर्ने मौका जुरेन। यसबीचमा ‘घरज्वाई’निर्माण गरे। यो चलचित्रको दुईवर्षपछिमा पुन ८ वर्षअघिको कथा ‘मितज्यु’को स्क्रिप्ट खोलियो। यस चलचित्रमा दयाहाङ राईले समय पनि दिए। अन्तत यस फिल्ममा सौगात मल्ल,टेरिया फौजा मगर,शिशिर वाङ्देलको टिम जुट्यो। यस चलचित्रका अधिकांश गीतले चर्चाको शिखर चुमिरहेको छ। फिल्मका कलाकार तथा निर्माण पक्ष प्रमोसनमा हिडिरहेका छन्। पछिल्लो समय यस चलचित्रमा समावेश गीत ‘गैराघरे साइँली’ले निकै चर्चा कमाई रहेको छ। यसैबीचमा दुई अभिनेतामध्ये एक दयाहाङ राईसँग गरिएको छोटो कुराकानी :

तपाईको बिचारमा यो चलचित्र ‘मितज्यू’ कस्तो कथा हो?

सरसर्ती हेर्दा यो सम्बन्धको कथा हो। विशेषगरी पारिवारिक सम्बन्ध, मित्रता र व्यवसायिकताको कथा। एउटा गाउँदेखि शहरसम्म गाडीको रुट छ, जहाँ तीन जना चालकहरूले सेवा दिइरहेका छन्। म, सौगात मल्ल र शिशिर वाङ्देल दाइका पात्र छन्। मेरो पात्रको आफ्नै पारिवारिक पृष्ठभूमि र विगत छ। गाडी चलाउने पेशामा दौडधुप र पारिवारिक जिम्मेवारीबीच उसले के सोचिरहेको छ भन्ने वरिपरि कथा घुम्छ।

यस चलचित्रका पोस्टर र टिजर रिलिज भइसकेको छ,टिजर र ट्रेलरले कति कुरा खुलाउँछन?

टिजर वा ट्रेलरमा सबै कुरा देखिँदैन। कति भन्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यो चलचित्रमा हरेक पात्रको आफ्नै कथा छ, जुन दर्शकले पूरा फिल्म हेरेपछि मात्रै राम्रोसँग बुझ्न सक्नुहुन्छ।

यस चलचित्रल्ममा दर्शकले उहीँ दयाहाङ राई देख्छन् कि फरक रूप?

मेरो अभिनय शैली नै पात्रको मनोविज्ञानसँग खेल्ने हो। बाहिरी हाउभाउभन्दा पनि पात्रको भित्री भावनासँग नजिक हुन रुचाउँछु। ‘मितज्यू’मा मैले निभाएको पात्र मभन्दा नितान्त फरक छ। तर मैले देखेका र महसुस गरेका यथार्थसँग जोडिएको छ। अहिलेको सामाजिक–राजनीतिक सन्दर्भसँग पनि दर्शकले यसलाई कनेक्ट गर्न सक्नुहुन्छ। यो गहिरो पात्र हो, र यस्तो पात्र पाउनु आफैंमा विशेष कुरा हो।

सौगात मल्ल सँगको केमिस्ट्री कस्तो छ? प्रतिस्पर्धा बढी कि सहकार्य?

हाम्रो उद्देश्य नै फरक–फरक छ। अघिल्ला फिल्महरू जस्तै लुट वा कबड्डी मा जस्तो सम्बन्ध यहाँ छैन। ‘मितज्यू’मा हामी किन दौडिरहेका छौँ भन्ने कुरा फरक छ। दर्शकलाई सुरुमा एउटा शंका लाग्न सक्छ, तर वास्तविक कुरा बुझ्न पूरा चलचित्र हेर्नुपर्छ।

नव अभिनेत्री टेरिया मगरसँग काम गर्दा अनुभव कस्तो रह्यो?

कलाकार भएपछि नयाँ वा पुरानो भन्ने हुँदैन। त्यो कास्टिङ र स्क्रिप्टको आवश्यकता हो। मेरो लागि हरेक चलचित्र नयाँ अनुभव हो। फरक मनोविज्ञान भएका पात्रहरूसँग काम गर्दा हामी आफैं पनि नयाँ रूपमा एडजस्ट हुन्छौँ। सहकार्य, बुझाइ र रुचि मिल्दै जाँदा काम सहज हुन्छ।

‘मितज्यू’मा तपाईं कसरी जोडिनुभयो?

दयाहाङ राईः निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगर करिब ८ वर्षअघि नै स्क्रिप्ट लिएर आउनुभएको थियो। त्यतिबेला नै कथा रोचक लागेको थियो। तर त्यतिबेला आफ्नो अनुभवले न्याय गर्न सकिन्छ कि भन्ने लागिरहेको थियो। बीचमा कोभिड आयो, केही प्रोजेक्टहरू रोकिए। त्यसपछि समय मिल्दा यो फिल्म गर्ने निर्णय भयो।

तपाईले चलचित्रको नाम नै ‘मितज्यु’मा काम गर्नुभएको छ। तपाई आफैमा ‘मित’ लगाउने अनुभव छ?

व्यक्तिगत रूपमा मैले मित लगाएको छैन। तर समाजमा यसको परम्परा र महत्वबारे सुन्दै आएको छु। पहिले झगडा मिलाउन मित लगाउने चलन थियो भन्ने सुनेको छु। अहिले पनि यसलाई विभिन्न रूपमा बुझ्न सकिन्छ, जस्तो राजनीतिक सन्दर्भमा पनि ‘मित’ जस्तै सहकार्य वा गठबन्धन देखिन्छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com