सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ओम प्रतीकको निर्देशनमा निर्माण भएको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार चलचित्रका दुईवटा आधिकारिक पोस्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
एउटा पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु रिसाहा स्वभावमा देखिएका छन्। ओमप्रतिक,सरोज खनाल,प्रमोद दीप र सुजता थापा रिसाहा स्वभावमा देखिएका छन्। उनीहरुबीचको सम्बन्धमा खटपट परेपछिको अवस्था पोस्टरमा देख्न सकिन्छ। पोस्टरले फिल्मको कथामा हुने एउटा घटनालाई प्रस्तुत गरेको छ।
उनीहरुको पछाडी एक घरको दैलोमा भित्र र बाहिर दुई महिला थाल बोकेर बसेका छन्। सायद जुठो भाँडा हातमा भएको देखिन्छ। यसले नारीको बेदना कथाले भन्न खोजेको छ। यस चलचित्रको अझै कथा टिजर र ट्रेलर रिलिजपछि नै केहि मात्रामा थाहा होला।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा भएको यस चलचित्रको कथा वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको र यसले समाज एवं देशमा परिवर्तन ल्याउनका लागि एक जना हली नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्ने निर्माण पक्षले जनाएको छ। अघिल्लो वर्ष व्यावसायिक रूपमा सफल चलचित्र ‘मोहर’ निर्देशन गरिसकेका ओम प्रतीक यस पटक पनि आफ्नो कथावस्तुप्रति पूर्ण रूपमा विश्वस्त देखिएका छन्। यस चलचित्रलाई निर्देशक प्रतिक आफैले लेखेका हुन्।
व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको यस चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक आफैले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्। चलचित्रको विशेष आकर्षणको रूपमा एउटा प्रमोशनल गीत समावेश गरिएको छ। जसमा नेपालका चर्चित शीर्ष कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति दिएका छन्, जसको कोरियोग्राफी स्थापित कोरियोग्राफर कविराज गहतराजले गरेका हुन्। चलचित्रका अन्य गीतहरूको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्।
कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण बज्राचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेको यस चलचित्रमा राहुल राईको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ। साथै सम्पादन विपिन मल्लले गरेका हुन्। चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको गीतमा गायक बाबुल गिरी र चर्चित गायिका शान्ति श्री परियारको मुख्य स्वर रहेको छ। कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।









प्रतिक्रिया