सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी साउन २९ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘लज्जावती’ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले शुक्रबार एकैसाथ सिनेमाको पाँच पोस्टर सावएजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूको फरक-फरक लुक्स प्रस्तुत गरिएको छ। जसले चलचित्रका मुख्य पात्रको पहिचानसँगै उनीहरूको प्रेम, सम्बन्ध, संघर्ष तथा ग्रामीण परिवेश झल्काएको छ।

एक पोस्टरमा अभिनेता मुकुन भुसाल र अभिनेत्री जानुका विश्वकर्मा रोमान्टिक मुद्रामा देखिएका छन्, जसले सिनेमामा प्रेमकथाको महत्वपूर्ण पक्ष रहेको संकेत गर्छ। अर्को पोस्टरमा मुकुन भुसालको काँधमा श्रीकृष्ण निरौला रमाइलो शैलीमा चढेको दृश्य छ भने जानुका विश्वकर्मा र मेनुका माझी पनि देखिन्छन्। यसले सिनेमामा पारिवारिक सम्बन्धसँगै हास्य र भावनात्मक पक्षलाई पनि समेटिएको अनुमान गर्न सकिन्छ।

अर्को क्यारेक्टर पोस्टरमा श्रीकृष्ण निरौला र मेनुका माझीसँग मुकुन भुसाल गम्भीर भावमा देखिएका छन् । पोस्टरको पृष्ठभूमिले ग्रामीण र सहरी परिवेश दुवैलाई चित्रण गरेको देखिन्छ, जसले सिनेमाको कथा विविध सामाजिक परिवेशमा आधारित हुन सक्ने संकेत दिन्छ।

सबै पोस्टरमार्फत निर्माण टिमले चलचित्रको प्रेम, परिवार, सम्बन्ध र सामाजिक कथावस्तुलाई झल्काउने प्रयास गरेको देखिन्छ। टिमका अनुसार सिनेमाले प्रेमसँगै समाजका विविध पक्षलाई समेट्ने प्रयास गरेको छ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको चलचित्रका लेखक तथा निर्देशक राजबहादुर साने हुन्। चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।

सौरभ वली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। दिव्यराज सुवेदीले छायांकन गरेको सिनेमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ। तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमामा देव महर्जनको द्वन्द्व निर्देशन छ ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com