सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । वेब सिरिज ‘सायराः ए मिरोर अफ सोसाइटी’ निर्माण हुने भएको छ। अमेरिकाबाट व्यावसायिक यात्रा सुरु गर्न लागेको अस्त्र सिने स्टुडियोजले नेपालस्थित र्‍याड स्टुडियोजसँगको सहकार्यमा सिरिज निर्माण गर्न लागेको हो।

वेब सिरिजको लेखन तथा निर्देशन किशोर भण्डारीले गर्नेछन्। ‘स्टोरीज द्याट स्ट्राइक लाइक स्टार्स’ नारा राखिएको यो सिरिज चाँडै छायाङ्कनमा जाने निर्माण पक्षले जनाएको छ। आगामी माघ १ गते अर्थात् जनवरी १५ देखि प्रदर्शन गर्ने तयारी गरिएको छ। सम्पादक निशान घिमिरेले सिरिजमा चिफ एडिटर तथा प्रोजेक्ट हेडका रूपमा काम गरिरहेका छन्।

निर्माण पक्षले सिरिजको फस्टलुक पोस्टरसमेत सार्वजनिक गरेको छ। पोस्टरमा ‘सायरा’ शीर्षकको पछाडि एक महिला चस्मा लगाएर कतै हेरिरहेको अवस्थामा देखिएकी छन्। त्यसको तल उपत्यकाजस्तो देखिने स्थानतर्फ एक महिला हिँडिरहेको दृश्य छ। उनको दायाँबायाँ केही मानिस बसिरहेको देख्न सकिन्छ।

‘आजको डिजिटल दुनियाँको लतले आम मानिसको ध्यानलाई विकृत कामतर्फ मोडिरहेको छ। सामाजिक विकृतिविरुद्ध आवाज उठाउँदै जनचेतना फैलाउनुका साथै मनोरञ्जन पनि प्रदान गर्ने हाम्रो उद्देश्य हो। दर्शकले परिवारसँग बसेर आनन्दका साथ सिरिज हेर्न सकून् भन्ने चाहना छ,’ निशानले भने, ‘सिरिजलाई बहुभाषिक बनाउनेछौँ। अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर नेपाली कथालाई विश्वव्यापी रूपमा प्रस्तुत गर्ने हाम्रो लक्ष्य हो।’

निशानका अनुसार सांस्कृतिक विविधतालाई समेट्दै कथाको मागअनुसार नेपाल र अमेरिकामा पनि छायाङ्कन गर्ने तयारी भइरहेको छ। सिरिजलाई अंग्रेजी सबटाइटलसहित विश्वका विभिन्न देशमा सहजै हेर्न सकिने बनाउने योजना रहेको उनले बताए। केही समयपछि कलाकार तथा प्राविधिक टोलीका सदस्य सार्वजनिक गरिने उनको भनाइ छ।

दुई दशकभन्दा लामो समयदेखि नेपाली फिल्म तथा म्युजिक भिडियोको विकास र रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका निशानले सन् २०२४ मा अमेरिकामा आयोजित अमेरिकन फिल्म मार्केटको ४५औँ संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए।

अमेरिकाको लस भेगासस्थित पाम्स क्यासिनो रिसोर्टमा आयोजित कार्यक्रममा विश्वका ८० देशका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा फिल्म लगानी तथा वित्तीय व्यवस्थापन, निर्माण, वितरण, नयाँ प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), फिल्म स्ट्रिमिङ र कथावाचनलगायतका विषयमा छलफल भएको थियो।

निशानले आफ्नो कम्पनी र्‍याड स्टुडियोजमार्फत नेपाली फिल्मका विशिष्ट विशेषता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका थिए। उनले नेपालको कथावाचन परम्परा, फिल्म निर्माणमा प्रयोग भइरहेका आधुनिक प्रविधि तथा छायाङ्कनका लागि उपयुक्त प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरूको महत्त्वबारे चर्चा गरेका थिए।

यसअघि सन् २०२३ मा बेलायतको लन्डनमा आयोजित ‘फोकस २०२३ः मिट द मेकर्स’ सम्मेलनमा पनि सहभागी हुँदै निशानले नेपाली फिल्म उद्योगको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com