सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । तपाईं यो साताको बिदामा फिल्म हेर्ने योजना बनाउँदै हुनुहुन्छ भने ‘रकेट्री : द नम्बी इफेक्ट’ तपाईंका लागि राम्रो विकल्प हुन सक्छ । एक वैज्ञानिकको जीवनयात्रामा आधारित यो फिल्म परिवारसँग बसेर हेर्न सकिन्छ । मनोरञ्जनसँगै विज्ञान, संघर्ष, देशप्रतिको समर्पण र जीवनका कठिन मोडहरू बुझ्न पनि यसले मद्दत गर्छ।
सन् २०२२ मा रिलिज भएको यो फिल्मको कथा अहिले पनि उत्तिकै सान्दर्भिक छ। वास्तविक जीवनमा आधारित भएकाले यसले एक वैज्ञानिकको उपलब्धि मात्र होइन, उनले जीवनमा भोगेका अपमान, पीडा र अन्यायलाई समेत पर्दामा उतारेको छ।
कथा के हो ?
वैज्ञानिक नम्बी नारायणको जीवनमा आधारित फिल्म ‘रकेट्री : द नम्बी इफेक्ट’ हलमा रिलिज भएको केही समय बितिसकेको छ। अहिले यो फिल्म ओटीटी प्लेटफर्ममा समेत उपलब्ध छ। फिल्मले नम्बी नारायणको वैज्ञानिक यात्रा, उनले गरेका अनुसन्धान, संघर्ष र जीवनमा आइपरेका कठिन परिस्थितिलाई चित्रण गरेको छ।
एक समय देशद्रोहीको आरोप खेपेका नम्बी र उनको परिवारले त्यसपछि अनेक कठिनाइ सामना गर्नुपर्यो। उनी देशद्रोही प्रमाणित भएनन्, तर आरोप लागेकै कारण उनले जीवनको निकै कठिन अध्याय भोग्नुपर्यो। रकेट विज्ञानमा उनको योगदानले भारतको नाम विश्वमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। रकेट इन्जिन निर्माणमा उनले गरेको मेहनत र योगदानले भारतलाई अन्तरिक्ष प्रविधिमा आत्मनिर्भर बन्ने दिशामा अघि बढाएको थियो। तर, देशका लागि योगदान दिएका तिनै वैज्ञानिकले आरोपका कारण प्रहरी, समाज र आम मानिसबाट अपमान सहनुपरेको कथा निकै मर्मस्पर्शी छ।
फिल्मका निर्देशक आर माधवन हुन्। मुख्य भूमिकामा पनि उनै छन्। लेखन र निर्देशनसमेत आफैँले गरेका माधवनले नम्बी नारायणको जीवनकथा दर्शकमाझ पुर्याउने उद्देश्यले यो फिल्म बनाएका हुन्। नम्बीको कथा थाहा पाएपछि आफूले यसलाई आम दर्शकसम्म पुर्याउनुपर्ने महसुस गरेको माधवनले विभिन्न अन्तर्वार्तामा बताएका छन्। ‘यो कथा मेरो मनको निकै नजिक छ। यसलाई आम दर्शकसम्म पुर्याउन नै फिल्मको स्वरूप दिएको हुँ,’ उनले भनेका छन्।
माधवनका लागि यो महत्त्वाकांक्षी परियोजना थियो। लगानीकर्तालाई कथा बुझाएर फिल्म निर्माणमा सहमत गराउनसमेत उनले निकै मेहनत गर्नुपरेको थियो। सन् २०१६ मा नयाँ परियोजनाको तयारी गरिरहेका बेला कसैले उनलाई वैज्ञानिक नम्बी नारायणको कथा सुनाएका थिए। त्यसपछि माधवन उनीसँग भेट्न पुगे। त्यो भेटपछि नम्बीको जीवन र संघर्षले माधवनलाई निकै प्रभावित बनायो। त्यसपछि उनले उनको जीवनकथालाई पर्दामा उतार्ने निर्णय गरे। पटकथा तयार पार्न मात्रै उनलाई करिब सात महिना लागेको थियो।
विज्ञानको सपना र संघर्षको यात्रा
फिल्ममा नम्बी नारायण बाल्यकालदेखि नै मेधावी विद्यार्थीका रूपमा देखिन्छन्। आफ्नो क्षमता र मेहनतका कारण उनले अमेरिकाको नासामा काम गर्ने अवसरसमेत पाउँछन्। तर, देशमै योगदान गर्ने उद्देश्यले उनी भारत फर्किन्छन्। पत्नी मिनासँग स्वदेश फर्किएपछि उनको वास्तविक संघर्ष सुरु हुन्छ।
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो)मा बजेटको अभाव थियो। दक्ष प्राविधिक र आवश्यक स्रोतसाधन जुटाउन पनि कठिन थियो। तर नम्बीको सपना रकेट इन्जिन निर्माण गर्नु थियो। भारतलाई अन्तरिक्ष विज्ञानमा आत्मनिर्भर बनाउने उनको लक्ष्य थियो। यही लक्ष्य पूरा गर्न उनी अनेक कठिनाइबीच अघि बढ्छन्।
उनी प्रिन्स्टन विश्वविद्यालय पुगेर प्रोफेसर लुइजी क्रकोसँग १० महिनामै आफ्नो थेसिस पूरा गर्छन्। त्यसपछि लिक्विड इन्जिन निर्माणको ज्ञान र प्रविधि हासिल गर्न युरोप पुग्छन्। यो काम एक्लै सम्भव थिएन। त्यसैले उनले सरकारसँग अनुमति लिएर ७२ जना वैज्ञानिकको टोलीसहित युरोप जाने योजना बनाउँछन्।
फ्रान्स पुगेर उनले सामान्य मजदुरका रूपमा काम गर्दै लिक्विड इन्जिन निर्माणको प्रविधि सिक्छन्। टोलीका सदस्यहरूलाई विभिन्न विभागमा परिचालन गर्छन्। भाषा र कामको चुनौतीबीच उनीहरू प्रविधि सिक्न जुटिरहेका हुन्छन्। त्यहाँबाट फर्किएपछि इन्जिन निर्माणको काम अघि बढ्छ। तर, त्यसको परीक्षणका लागि पुनः युरोप जानुपर्ने बाध्यता हुन्छ।
पुनः युरोप पुगेर परीक्षण गरेपछि उक्त इन्जिनले सफलता हासिल गर्छ, जसलाई ‘विकास इन्जिन’ नाम दिइन्छ। युरोपभन्दा सस्तोमा इन्जिनका पार्टपुर्जा उपलब्ध हुने भएपछि उनले अन्य देशसँग खरिद सम्झौतासमेत अघि बढाउँछन्। भारतले उपलब्ध गराएको सीमित बजेट र देशलाई अन्तरिक्ष विज्ञानमा सक्षम बनाउने सपना बोकेर उनले यी सबै काम गरिरहेका हुन्छन्। आफ्नो अध्ययन र सिकाइका क्रममा उनले ठूला वैज्ञानिकका घरमा कामसमेत गर्छन्। उनको सपना ठूलो थियो र त्यसलाई पूरा गर्न उनी कुनै पनि काम गर्न तयार थिए।
तर, देशलाई धोका दिएको र विदेशी महिलासँग सम्बन्ध स्थापित गरी गोप्य जानकारी बेचेको आरोपमा उनलाई झुटो मुद्दामा फसाइन्छ। त्यसपछि उनको वैज्ञानिक जीवन मात्र होइन, पारिवारिक जीवनसमेत तहसनहस हुन्छ। उनी र उनको परिवारले सामाजिक अपमान, मानसिक तनाव र आर्थिक कठिनाइ सामना गर्नुपर्छ। निर्दोष साबित हुन उनले २६ वर्ष लामो कानुनी लडाइँ लड्नुपर्छ।
सन् १९९८ मा सर्वोच्च अदालतले नम्बी नारायणलाई निर्दोष घोषित गर्यो। तर, ८० वर्षको उमेरमा न्याय पाउँदा पनि उनी पूर्ण रूपमा खुसी हुन सकेनन्। आफूलाई झुटो मुद्दामा फसाउनेहरूलाई सजाय नभएसम्म सन्तुष्ट नहुने उनको अडान थियो। देशका लागि गरेको योगदान र त्यागलाई एउटा आरोपले ध्वस्त बनाएको पीडा उनको मनमा गहिरो थियो। आफूले भोगेको अन्यायभन्दा परिवारले सहनुपरेको दुःखले उनलाई बढी पीडा दिएको देखिन्छ।
अभिनय र निर्देशन
फिल्ममा आर माधवनले नम्बी नारायणको भूमिकालाई निकै मेहनतका साथ निर्वाह गरेका छन्। उनको अभिनयमा वैज्ञानिकको आत्मविश्वास, सपना, निराशा, पीडा र देशप्रतिको समर्पण देखिन्छ। नम्बीको जीवनका विभिन्न चरणलाई पर्दामा उतार्न माधवनले शारीरिक हाउभाउदेखि बोल्ने शैलीसम्म ध्यान दिएका छन्। उनको अभिनय फिल्मको बलियो पक्ष हो।
फिल्ममा शाहरुख खान विशेष भूमिकामा देखिएका छन्। हिन्दी र अंग्रेजी संस्करणमा उनी अन्तर्वार्ताकारका रूपमा प्रस्तुत छन् भने तमिल संस्करणमा अभिनेता सूर्याले उक्त भूमिका निर्वाह गरेका छन्।
नम्बीकी पत्नी मिनाको भूमिकामा सिमरन देखिएकी छन्। त्यस्तै, उन्नीको भूमिकामा साम मोहन, विक्रम साराभाईको भूमिकामा रजित कपूर तथा तमिल संस्करणमा रवि राघवेन्द्र र कलामको भूमिकामा गुल्सन ग्रोवर देखिएका छन्।
किन हेर्ने ‘रकेट्री : द नम्बी इफेक्ट’ ?
‘रकेट्री : द नम्बी इफेक्ट’ केवल एक वैज्ञानिकको जीवनीमा आधारित फिल्म होइन। यो देशका लागि आफ्नो जीवन समर्पण गर्ने व्यक्तिले राज्य र समाजबाट पाउनुपर्ने सम्मान तथा न्यायको कथा पनि हो। एउटा मानिसको जीवनमा झुटो आरोपले कति ठूलो असर पार्न सक्छ भन्ने कुरा फिल्मले गहिरोसँग देखाउँछ।
नम्बी नारायणको जीवनकथा फिल्ममार्फत धेरै दर्शकसम्म पुगेको छ। भारतको रकेट इन्जिन विकास, अन्तरिक्ष विज्ञान र व्यावसायिक भूउपग्रह प्रविधिको विकासबारे बुझ्न पनि फिल्म उपयोगी छ।
फिल्मले विज्ञानको महत्त्व, देशप्रतिको जिम्मेवारी, सपना पूरा गर्न आवश्यक मेहनत र अन्यायविरुद्धको लामो संघर्षलाई प्रस्तुत गर्छ। परिवारसँग बसेर हेर्दा मनोरञ्जनसँगै ज्ञान र जीवनप्रतिको दृष्टिकोणसमेत प्राप्त गर्न सकिन्छ। ‘रकेट्री : द नम्बी इफेक्ट’ हिन्दी, अंग्रेजी, तमिललगायत भाषामा ओटीटी प्लेटफर्ममा उपलब्ध छ।






प्रतिक्रिया