सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय सुपरस्टार सलमान खानसँग नेपाली अभिनेता अनुपविक्रम शाहीले स्क्रिन सेयर गरेका छन् । सलमान खानको होम प्रोडक्सनमा बनेको फिल्म ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएसँगै अनुपको भूमिकालाई लिएर चर्चा सुरु भएको छ ।

फिल्ममा उनी चिनियाँ सेनाका मेजरको भूमिकामा छन् । ट्रेलरका एक्सन दृश्यमा सलमानसँग भिडिरहेका अनुपको उपस्थिति दमदार देखिन्छ । ‘सलमान सर र मेरो धेरै फाइट सिन छन्,’ अनुपले भने, ‘मेरो ८० प्रतिशत सिन सलमान सरसँगै छ ।’

विश्वभरिबाट गरिएको अडिसनमा सहभागी भएर अनुप फिल्मका लागि छनोट भएका हुन् । फिल्मको विशेष चरित्रका लागि निर्माण टोलीले विभिन्न देशका कलाकारको अडिसन लिएको थियो । निर्देशक अपूर्व लाखियाले मुम्बईमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा अनुपलाई विश्वभरिबाट छनोट गरिएको कलाकारका रूपमा परिचय गराएका थिए ।

सलमानसँग एक्सन दृश्य खिच्दा पनि अनुपलाई सुरुमा संकोच लागेको थियो । आफूभन्दा वरिष्ठ कलाकारलाई किक र पन्च हान्नुपर्ने दृश्यमा उनी नर्भस थिए । तर, सलमानले आफूलाई सहज बनाएको अनुप बताउँछन् ।

‘उहाँले मलाई हान, केही फरक पर्दैन । म तिम्रो दुश्मन हुँ भन्ने सोच । त्यसपछि मात्रै राम्रो एक्सन आउँछ । उहाँको त्यो व्यवहारले मलाई निकै सहज बनायो,’ उनले सुनाए ।

नेपाली फिल्ममा ‘ह्यान्डसम भिलेन’को परिचय बनाएका अनुपले बलिउडसम्म पुग्न लामो संघर्ष गरेका छन् । उनले यसअघि पनि बलिउडका विभिन्न फिल्मका लागि अडिसन दिएका थिए । कतिपय असफलताले आफूलाई एक्लै बसेर रुनुपर्ने अवस्थासम्म पुर्‍याएको उनी सम्झन्छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com