सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अमेरिकाको टेक्ससस्थित ड्यालसमा नेपाली फिल्म ‘प्रेम अध्याय’को विशेष प्रदर्शन गरिएको छ । विदेशमा रहेका नेपाली समुदायमाझ नेपाली फिल्म पुर्याउने उद्देश्यले नोभेम्बर १५ मा इर्भिङ मलस्थित एएमसी थिएटरमा फिल्मको विशेष प्रदर्शन आयोजना गरिएको हो ।
विशेष प्रदर्शनमा फिल्मका कलाकार सरोज खनाल र रामशरण चौधरी उपस्थित थिए । प्रेम र सम्बन्धका भावनात्मक पक्षसँगै एक्सनलाई समेत समेटिएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ । दर्शकले फिल्मले फरक स्वाद दिएको प्रतिक्रिया दिएका छन् ।
चितवनका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको फिल्ममा रामशरण चौधरी र ऋचा थापा मुख्य भूमिकामा छन् । उनीहरूसँगै सरोज खनाल, मुकुन्द श्रेष्ठलगायत कलाकारको पनि अभिनय रहेको छ ।
किशोर चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्मका निर्माता किरण चौधरी हुन् । फिल्मको छायाङ्कन विष्णु परियारले गरेका छन् भने निर्माण नियन्त्रणको जिम्मेवारी मेसमान श्रेष्ठ र प्रणवले सम्हालेका छन् । निर्माण टोलीका अनुसार ‘प्रेम अध्याय’ छिट्टै नेपालमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको छ ।






प्रतिक्रिया