सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको फिल्म आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

सार्वजनिक पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र फिल्मका मुख्य पात्रहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनिक भएसँगै फिल्मको कथावस्तु र कलाकारको भूमिकालाई लिएर दर्शकमाझ उत्सुकता बढ्ने निर्माण पक्षको अपेक्षा छ ।

‘सारथी’मार्फत गिरि विश्वकर्मा र गायत्री जोशी नायक तथा नायिकाका रूपमा दर्शकमाझ प्रस्तुत हुँदैछन् । फिल्ममा नेपाली फिल्म क्षेत्रका परिचित कलाकार निरुता सिंह र उत्तम प्रधानको पनि अभिनय रहेको छ । करिब दुई दशकपछि निरुता र उत्तमलाई एउटै फिल्ममा देख्न पाउनु ‘सारथी’को अर्को विशेष आकर्षण बनेको छ ।

फिल्ममा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्म किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो । फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् भने सहनिर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा रहेका छन् । फिल्मका लाइन प्रोड्युसर अमिर केसी हुन् ।

फिल्मको छायाङ्कन संकल्प भुजेलले गरेका छन् भने सम्पादन तारा थापा ‘किम्भे’को रहेको छ । मुख्य सहायक निर्देशक राजु खतिवडा तथा सहायक निर्देशक यमुना आचार्य र आशिष श्रेष्ठ हुन् । फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको सङ्गीत रहेको छ । गीतमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ भने गीतकार प्रशान्त शिवाकोटी हुन् । नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् भने कला निर्देशन श्याम कार्कीको रहेको छ । ड्रेस कोअर्डिनेटर गोविन्द खड्का हुन् । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

म्याग्दीको गुर्जा क्षेत्रमा छायाङ्कन गरिएको फिल्मले हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनाका विविध पक्षलाई समेटेको छ । प्राकृतिक सौन्दर्यसँगै स्थानीय जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास फिल्मको विशेष पक्षका रूपमा रहेको निर्माण पक्षले जनाएको छ ।

अफिसियल पोस्टर सार्वजनिक भएसँगै ‘सारथी’को प्रचारप्रसारले थप गति लिने निर्माण पक्षको अपेक्षा छ । नयाँ कलाकारको आगमन र स्थापित कलाकारको उपस्थितिले फिल्मप्रति दर्शकको चासो बढाउने विश्वास निर्माण टोलीले गरेको छ । ‘सारथी’ आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ देखि देशभर प्रदर्शनमा आउनेछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com