सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५’ ले बक्सअफिसमा राम्रो सुरुआत गर्यो । दसैँका फिल्महरूले दर्शक नपाउँदा टीकाको भोलिपल्टदेखि प्रदर्शनमा आएको फिल्मले दर्शकको राम्रो साथ पायो ।
सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार आइतबारसम्म फिल्मले १२ करोड ९४ लाख १५ हजार ४३७ रुपैयाँ ग्रस कमाइ गरेको छ । पछिल्लो सात दिनमा मात्रै फिल्मले ५४ लाख २३ हजार १९२ रुपैयाँ कमाएको विवरणमा उल्लेख छ ।
यसका साथै ‘कबड्डी ५’ले यस वर्ष तीनवटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । यो यस वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म हो । त्यस्तै, प्रदर्शनको पहिलो १० दिनमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड पनि यसकै नाममा छ । यसका साथै यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको सूचीमा यो दोस्रो स्थानमा छ ।
‘कबड्डी ५’ले कमाइका हिसाबले आफ्ना अघिल्ला तीन शृङ्खलालाई समेत उछिनेको छ । चलचित्र विकास बोर्डको विवरणअनुसार पहिलो फिल्म ‘कबड्डी’ले ७ करोड ३४ लाख, ‘कबड्डी २’ले १० करोड ३५ लाख र ‘कबड्डी कबड्डी कबड्डी’ले ७ करोड ५९ लाख रुपैयाँ ग्रस कमाइ गरेका थिए । तर, चौथो शृङ्खला ‘कबड्डी ४ : द फाइनल म्याच’को कमाइ भने २१ करोड ४० लाख रुपैयाँ ग्रस रहेको छ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय रहेको छ ।






प्रतिक्रिया