सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सामाजिक विषयवस्तुमा सशक्त फिल्म निर्माण गर्ने निर्देशकका रूपमा परिचित भारतीय निर्देशक प्रकाश झा पछिल्लो समय निर्मातासँगै अभिनेताका रूपमा पनि प्रस्तुत हुँदै आएका छन् । सन् १९७५ मा वृत्तचित्र निर्माता (डकुमेन्ट्री मेकर) का रूपमा आफ्नो यात्रा सुरु गरेका झा बलिउडमा प्रभावशाली निर्देशकका रूपमा स्थापित छन् ।

भारतको बिहारमा हुर्किएका झा नेपाल-भारत सीमा नजिकैको परिवेशसँग परिचित छन् । ‘गंगाजल’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रव्यूह’ र ‘सत्याग्रह’जस्ता फिल्म निर्देशन गरिसकेका झा दर्शकले बुझ्ने भाषामा फिल्म बनाउनुपर्ने बताउँछन् । उनका अनुसार फिल्म व्यावसायिक माध्यम पनि भएकाले दर्शक हलसम्म आएपछि सन्तुष्ट भएर फर्किनुपर्छ ।

‘व्यावसायिक जोखिम कम गर्दै कलात्मक फिल्म बनाउने कोसिस गर्नुस् । फिल्म भनेको व्यवसाय हो, त्यसैले हलसम्म आउने दर्शक तपाईंको कामबाट सन्तुष्ट हुनुपर्छ । कलात्मक अभिव्यक्तिका लागि फिल्म बनाउने गरेका छौँ भन्ने सोच छ भने त्यो भ्रम हो’, निर्देशक झाले भने, ‘मैले दर्शकका लागि ‘गंगाजल’ र ‘राजनीति’जस्ता फिल्म बनाएको छु । यस्तै, आफ्नो रुचि र अभिव्यक्तिका लागि ‘परीक्षा’ र ‘मट्टोकी साइकल’जस्ता फिल्ममा जोडिने गरेको छु ।’

आफ्नो सुरुवाती समयका ‘दामुल’, ‘परिणति’ र ‘मृत्युदण्ड’जस्ता फिल्मले प्रशंसा पाए पनि त्यसले अर्को फिल्म निर्माणका लागि आवश्यक आर्थिक लाभ दिन नसकेको उनको सम्झना छ । ती फिल्मले आफूलाई चिनाउन सफल भए पनि आम दर्शकलाई बुझ्न कठिन भएको उनी बताउँछन् । त्यस्तै समस्या अहिले पनि बलिउडमा देखिएको उनको बुझाइ छ । यसको मुख्य कारण कथावस्तुमा पर्याप्त मेहनत नहुनु रहेको उनी बताउँछन् । कथावस्तुलाई बेवास्ता गर्दै परियोजना निर्माणमा केन्द्रित हुनु गलत भइरहेको उनको धारणा छ ।

‘पहिला कर्पोरेट हाउसले लगानी गर्दा कथावस्तुसँगै कलाकारको चयन निर्देशकले गर्थे । अहिले निर्माण कम्पनीले नै कलाकारको समयअनुसार फिल्मको योजना बनाइरहेका छन् । कथामा नभई कलाकारमा लगानी भइरहेको छ । त्यसैले अहिले परियोजना बनिरहेका छन्’, निर्देशक झाले भने ।

‘आश्रम’ नामक वेब सिरिजमार्फत ओटीटीमा प्रवेश गरेका झाले अहिले हलमा प्रदर्शन गर्ने उद्देश्यले ‘जनादेश’ नामक फिल्मको छायांकन सकाएका छन् । साथै उनी ‘धर्मक्षेत्र’ नामक फिल्ममा समेत काम गरिरहेका छन् ।

‘मेरा फिल्मले कथा भनेका हुन् । त्यसले कुनै बहस अगाडि ल्याओस् भनेर म फिल्म बनाउँदिनँ, तर आफूलाई लागेको कथा भन्छु । मेरो शैली भने फरक छ’, निर्देशक झाले भने, ‘कुनै फिल्ममा प्रेमी र प्रेमिकाको बिछोडको कारण धनी र गरिबबीचको खाडल हुन सक्छ, तर मैले त्यहाँ वैचारिक द्वन्द्व र सामाजिक सभ्यतालाई देख्छु । मैले सोच्ने र बुझ्ने कथा अरूभन्दा फरक हुन सक्छन् ।’

भारतको लोकसभा निर्वाचनमा समेत सहभागिता जनाइसकेका झाले व्यवस्थाविरुद्धको आक्रोश फिल्ममार्फत व्यक्त गर्ने गरेको घुमाउरो शैलीमा स्वीकार गरे । ‘मैले नेता बनेर भन्न चाहेका तथ्य फिल्ममार्फत भनेको हुन सक्छु । किनकि फिल्मकर्मी सरकारको विपक्षीको भूमिकामा रहनुपर्छ भन्ने मेरो बुझाइ छ’, उनले भने ।

नेपाली फिल्म निर्देशन गर्ने आफ्नो कुनै योजना नरहेको झाले बताए । यद्यपि, नेपाली निर्माण कम्पनीसँग सहकार्य गर्न सक्ने सम्भावनालाई भने उनले अस्वीकार गरेनन् । राम्रो विषयवस्तुमा आफ्नो सुझाव र अनुभव मिसाएर फिल्मलाई अझ राम्रो बनाउन आफ्नो टोलीसहित सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

‘मैले यहाँको कथा भन्न सक्दिनँ । किनकि मैले अहिलेसम्म आफ्नो ठाउँबाहेक अन्यत्रको कथा भनेको छैन । तर नेपाली फिल्मकर्मीसँग सहकार्य गरेर काम गर्न सक्छु । फिल्मप्रतिको मेरो बुझाइ उहाँहरूले प्रयोग गर्न सक्नुहुन्छ’, निर्देशक झाले भने, ‘हाम्रो जस्तै कथा र पटकथाको समस्या यहाँ पनि छ जस्तो लाग्छ । प्राविधिक पक्षमा जस्तै कथावस्तुमा पनि मेहनत आवश्यक छ ।’

(निर्देशक झा एक फिल्म फेस्टिभलमा सहभागी हुन् नेपाल आएको समयमा गरिएको कुराकानीमा आधारित )

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com