सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अक्षरा’को पहिलो लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले चलचित्रको प्रचारप्रसार स्वरूप पहिलो पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा चलचित्रकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई फिचर गरिएको छ। पोस्टरमा उनलाई ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर तथा निराशा भावमा देख्न सकिन्छ। उनको शारीरिक हाउभाउ र अनुहारको भावले उनी कुनै गहिरो सोच, विरह वा गम्भीर मानसिक अवस्थामा रहेको दर्शाउँछ। साथै, यस चलचित्रको पोस्टरको पृष्ठभूमिमा पातहरू झरेका, सुकेका वा नाङ्गा रुखहरू देखिन्छन्। यी उजाड रुखहरूले जीवनको शून्यता, निराशा वा सङ्घर्षको प्रतीकका रूपमा काम गरेका छन्, जसले पात्रको भित्री पीडाको सङ्केत गर्छ। चलचित्रको कथाको मूल मर्मलाई निर्माण पक्षले पोस्टरमार्फत केही मात्रामा दर्शकमाझ भन्न खोजेको बुझ्न सकिन्छ।

अभिनेत्री न्यान्सीले यसअघि ‘१२ गाउँ’जस्तो ब्लकबस्टर फिल्म दर्शकमाझ दिइसकेकी छन् भने अनमोल केसीको आगामी चलचित्र ‘बाटुलो जुन’मा समेत काम गरेकी छन्। सन् २०१६ देखि २०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा सञ्चार अध्ययन गरेकी न्यान्सी अमेरिकामै मोडलिङ क्षेत्रमा समेत सक्रिय थिइन्। मिस नेपाल इन्टरनेसनल २०२२ु को उपाधि विजेता अभिनेत्री खड्काले जापानमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै देशको नाम उँचो बनाएकी थिइन्।

विनय राज पौडेलको निर्देशनमा निर्माण भएको यस चलचित्रमा न्यान्सी खड्काका साथमा सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम के।सी।, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, बिरेन्द्र कुशवाहा, सुमन ज्योती न्यौपाने (ल्याङ्ग्री दादा), निशा पन्थी, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने, प्रदिप धुलुङ्, बिश्वनाथ तामाङ, रबिन्द्र अधिकारी, प्रजल दुलाल र निशा कुइकेल मुख्य भूमिकामा देखिनेछन्। यसैगरी बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगानाले अभिनय गरेका छन्।

सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको यस चलचित्रको पटकथा तथा संवादमा निर्देशक पौडेललाई चर्चित लेखक अभिमन्यु निरवीले साथ दिएका छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले संयुक्त रूपमा निर्माण गरेका हुन्। चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने यसका कार्यकारी निर्माता सुरज थापा काजी र सुमन ज्योती न्यौपाने रहेका छन्।

चलचित्रमा कर्णराज गिरीको संगीत, सुरेन्द्र रानाको गीत, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन र दिपेन बस्न्यातको छायांकन रहेको छ। चलचित्रलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् भने रेनिस फागोले कलरिस्टको जिम्मेवारी निभाएका छन्। त्यसैगरी डुगराज घिमिरे कला निर्देशक, मदन न्यौपाने श्रृंगार, प्रार्थना भट्टराई वेशभूषा, र विपना बज्जन केश विन्यास विधामा आबद्ध छन्। चलचित्रको निर्माण व्यवस्थापन सुमन काफ्ले र त्रिलोचन न्यौपानेले सम्हालेका छन् भने मुख्य सहायक निर्देशकमा दिवस विक्रम बोहरा तथा सहायक निर्देशकहरूमा मनोज बोहोरा र सौरभ शाह रहेका छन्। राकेश दाहालले पोस्टर डिजाइन गरेको यस चलचित्रलाई नेशनल सिने ग्रुप नेपाल प्रा.ली.का दीपक दंगालले देशभर वितरण गर्ने जिम्मा लिएका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com