सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र उद्योगमा अन्तर्राष्ट्रिय दृष्टिकोणसहित अर्को महत्वाकांक्षी परियोजनाको घोषणा गरिएको छ । स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘बम्पर चिठ्ठा’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो ।
चलचित्रलाई निर्देशक बिक्की महर्जनले निर्देशन गर्नेछन् भने अमित अग्रहरि र निशा गुइदे निर्माता रहेका छन् ।
नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यका साथ यो चलचित्र निर्माण गर्न लागिएको निर्माण टिमले जनाएको छ ।
सार्वजनिक गरिएको थिम पोस्टरले नेपालको सांस्कृतिक सम्पदा र रहस्यमय वातावरणको झल्को दिन्छ । प्राचीन मन्दिरको शिखरबाट तलको चहलपहल नियालिरहेको दृश्यले कथाप्रति उत्सुकता जगाउने प्रयास गरेको छ । पोस्टरले चलचित्रको कथावस्तुबारे धेरै कुरा खुलाएको छैन, तर नेपाली समाज, संस्कृति र मानवीय सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गरिने संकेत भने स्पष्ट रूपमा दिएको छ ।

चलचित्र नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण हुनेछ र विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियो मार्फत प्रदर्शन गरिनेछ । यसमार्फत चलचित्र २४० भन्दा बढी देशमा रहेका दर्शकमाझ पुग्ने विश्वास निर्माण टिमको छ ।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा थप मजबुत रूपमा स्थापित गर्ने दिशामा यो परियोजना महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ ।
चलचित्रको कथा निर्देशक महर्जन स्वयंले लेखेका हुन् । कलाकार तथा अन्य प्राविधिक टोलीबारे विस्तृत जानकारी भने आगामी चरणमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
यसैबीच, यही टिमले निर्माण गरेको चलचित्र ‘आउट ल’ आगामी सेप्टेम्बरमा अमेजन प्राइम भिडियो मार्फत विश्वव्यापी रूपमा रिलिज हुँदैछ । ‘आउट ल’को प्रदर्शनपछि ‘बम्पर चिठ्ठा’ निर्माणको काम तीव्र गतिमा अघि बढाइने निर्माण टिमले जानकारी दिएको छ ।
‘बम्पर चिठ्ठा’ केवल एउटा कमेडी चलचित्र मात्र नभई नेपाली चलचित्रलाई विश्व बजारमा थप सशक्त रूपमा स्थापित गर्ने लक्ष्य बोकेको महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ ।





प्रतिक्रिया