सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  नेपालमा बहुप्रतिक्षित चलचित्र ‘हली’ शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। नेपालका साथै माल्दिभ्सका सिनेमा घरहरूमा पनि चलचित्र आजैबाट एकैसाथ रिलिज भएको हो। प्रदर्शनको पहिलो दिन बिहानैदेखि नेपालका अधिकांश हलहरूमा दर्शकको बाक्लो उपस्थिति रहनुका साथै धेरैजसो शोहरू हाउसफुल रहेका छन्।

छाउपडी प्रथाको सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रलाई विदेशमा पनि उच्च मागका साथ प्रदर्शन गर्ने तयारी गरिएको छ। जसअनुसार अगष्ट ९ मा साइप्रस, सेप्टेम्बर २० मा युके र अक्टोबर ११ मा हङकङमा यो फिल्म प्रदर्शन हुनेछ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेका हुन्। पूजा गुरुङ र जश्मिन श्रेष्ठ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल हुन्।

चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ। चलचित्रको विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माजस्ता चर्चित कलाकारहरूले विशेष नृत्य प्रस्तुत गरेका छन्।

चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ भने निर्माता जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरी र शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको यस चलचित्रलाई नेशनल सिने ग्रुपले वितरण गरेको हो भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com