सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’ को छायांकन सकिएको छ । ५१ दिनमा चलचित्रको छायांकन सकिएको हो ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको जेठ १५ बाट छायांकन सुरु भएको थियो । धनकुटा, सुनसरी र काठमाडौंमा चलचित्रको छायांकन भएको थियो ।

गत वर्ष निर्देशक आचार्यले निर्देशन गरेको ब्लकबस्टर चलचित्र ‘परान’ गत वर्षको सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो । उनको निर्देशनमा बनेको यो दोस्रो चलचित्र कस्तो हुनेछ भन्ने धेरैमा प्रतिक्षा छ ।

“हामीले मन खोलेर समय लगाएर चलचित्रको छायांकन गरेका छौँ । अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ,” निर्देशक आचार्यले भने, “कलाकार र प्राविधिकले जसरी छायांकनमा मेहनत गरेका छन्, अब पोस्टमा पनि त्यतिकै मेहनत गरेर दर्शकलाई मन पर्ने चलचित्र लिएर आउनेछौँ ।”

यो चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गरेका छन् ।

यो चलचित्रमा अभिनेता हरिवंश आचार्य, अभिनेत्री करिस्मा मानन्धर, नायक आशीर्वाद क्षेत्री, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् ।

यस्तै चलचित्रमा कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर,अशोक धिताल, सुमन ज्योति न्यौपानेलगायत कलाकारको पनि अभिनय रहेको छ ।

सोसल ड्रामा ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ ।

कुमार कट्टेलले तयार पारेका कथा लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् ।उमेशकुमार बराल र चिरन के.सी. निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

निर्देशक दीपक आचार्य आफैँले यस चलचित्रको गीत समेत लेखेका छन्, जसमा हर्क साउदको पनि रहने छ ।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन र बाबु गिरीको संगीत, गम्भीर विष्ट र किरण थापा नृत्य निर्देशन गरेका छन् ।

रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् भने सहायक निर्देशकहरूमा सागर बोहोरा, नेत्र बहादुर राउत र लक्ष्मी पौडेल छन् । त्यस्तै, सिनेमामा प्रोजेक्ट म्यानेजरका रूपमा सुवास राज काफ्ले रहेका छन् भने प्रोडक्सन डिजाइन विशाल न्यौपाने छन् । मेकअपमा विक्रम गौतम, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, प्रोडक्सनमा विष्णु प्रसाद मैनाली र अनिश लामिछाने, पब्लिसिटी डिजाइन टाउवा स्टुडियो (विजय बस्याल) रहेका छन् ।

चलचित्र २०८३ माघ १ गते (१५ जनवरी) बाट देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ । यसलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com