सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली लोक-रक ब्यान्ड नेपथ्यले पहिलोपटक भारतको सिक्किमस्थित गान्तोकमा सांगीतिक प्रस्तुति दिने भएको छ । आगामी ३१ अक्टोबर २०२६ मा गान्तोकस्थित पाल्जोर स्टेडियममा ‘नेपथ्य लाइभ इन सिक्किम-लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’ आयोजना हुँदैछ ।

पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क) को प्रस्तुतिमा तथा नेपालयको निर्माणमा हुन लागेको कन्सर्टलाई संगीत, संस्कृति र पर्यटनलाई जोड्ने उत्सवका रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

‘रेशम’, ‘तालको पानी’, ‘भेडाको ऊन जस्तो’, ‘जोमसोमै बजारमा’ र ‘यो जिन्दगानी’ लगायतका गीतमार्फत विभिन्न पुस्ताका नेपालीभाषी श्रोतामाझ लोकप्रिय नेपथ्यले गान्तोकमा पहिलोपटक प्रस्तुति दिन लागेको हो ।

कार्यक्रममा सिक्किमसँगै भारतको उत्तरपूर्वी क्षेत्र, भारतका विभिन्न भाग, भुटान र नेपालबाट समेत दर्शक सहभागी हुने आयोजकको भनाइ छ । दसैं-तिहारको चाडपर्वको बीचमा आयोजना हुने भएकाले कन्सर्टले साथीभाइ, परिवार तथा संगीतप्रेमीलाई मनोरञ्जनसँगै गान्तोक र सिक्किमको संस्कृति, प्राकृतिक सौन्दर्य तथा पर्यटनको अनुभव गर्ने अवसर प्रदान गर्ने आयोजकको दाबी छ ।

पीभीई नेटवर्कका संस्थापक निर्देशक बिकेश कायस्थले ‘लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’को उद्देश्य सांगीतिक कार्यक्रम आयोजना गर्नु मात्र नभई संगीतलाई माध्यम बनाएर सिक्किमका मानिस, संस्कृति, सम्पदा, प्राकृतिक सौन्दर्य र आतिथ्यलाई प्रवद्र्धन गर्दै राज्यलाई सांस्कृतिक तथा सांगीतिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नु रहेको बताए ।

‘यो कन्सर्ट मात्र होइन, संगीतमार्फत सिक्किमलाई उत्सवका रूपमा प्रस्तुत गर्ने हाम्रो प्रयास हो,’ कायस्थले भने, ‘नेपाल, भुटान, भारतको उत्तरपूर्वी क्षेत्र र भारतका विभिन्न भागबाट दर्शक गान्तोक आऊन्, नेपथ्यको संगीतसँगै सिक्किमको संस्कृति, मानिस र पर्यटनलाई अनुभव गरून् भन्ने हाम्रो चाहना हो।’

उनका अनुसार ‘सेलिब्रेट सिक्किम’मार्फत सिक्किमलाई सांस्कृतिक तथा सांगीतिक पर्यटन गन्तव्यका रूपमा अघि बढाउने दीर्घकालीन सोचसमेत राखिएको छ। पीभीई नेटवर्कले सन् २०२५ मा सज्जनराज वैद्यको प्रस्तुतिसहित ‘लेट्स गेट लाउड सिक्किम’ आयोजना गरेको थियो । आयोजकका अनुसार उक्त कार्यक्रममा पाँच हजारभन्दा बढी दर्शक सहभागी भएका थिए। तीमध्ये दुई हजारभन्दा बढी दर्शक सिक्किमबाहिरबाट कार्यक्रमकै लागि आएका थिए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com