सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको फिल्म ‘माया भनेकै यस्तो होला’को टिजरले भावनात्मक प्रेमकथाको संकेत गरेको छ । सार्वजनिक टिजरमा प्रेम र विवाहबीचको अन्तर तथा त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई कथाको केन्द्रमा राखिएको देखिन्छ। विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोकालाई टिजरले प्राथमिकतामा राखेको छ। भावनात्मक अन्तरद्वन्द्व र कथाको मुख्य ‘ट्विस्ट’ रहेको संकेत टिजरले गरेको छ।
कवितात्मक लयबाट सुरु हुने टिजरमा संवाद छ, ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ।’ यो संवादले पात्रको बाध्यता र विवशताको संकेत गर्छ। टिजरमा देखिने महिला पात्र तथा मुख्य पुरुष पात्रका दृश्य, संवाद र अभिनयले पनि यसलाई थप प्रस्ट पार्छ।
टिजरअनुसार अभिनेता दिल श्रेष्ठको जीवनमा दुई युवती नीति शाह र सृष्टि श्रेष्ठको प्रवेश हुन्छ। सुरुवातमा दिल र नीतिको प्रेमलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। उनीहरू सँगै हाँसेका, रमाएका र भविष्यका सपना बुनेका दृश्य टिजरमा देखिन्छन्। तर कथामा यस्तो मोड आउँछ, जहाँ दिल विवाहको मण्डपमा त पुग्छन्, तर उनको अगाडि उनले चाहेको प्रेमिका हुँदिनन्।
टिजरले दर्शकसामु केही प्रश्नसमेत छाडेको छ। के नीतिको ठाउँमा अचानक सृष्टिको प्रवेश भएको हो? वा सृष्टि र नीति दिदी–बहिनी हुन्? टिजरमा कलाकारहरू रोएको दृश्य, मदनकृष्ण श्रेष्ठ गम्भीर मुद्रामा देखिएको दृश्य तथा पारिवारिक तनावले ‘बाध्यता’ वा ‘धोका’बीच विवाह भएको त होइन भन्ने आशंका गर्ने ठाउँ दिएको छ।
टिजरमा नीतिलाई चञ्चल र प्रेमिल अवतारमा देखाइएको छ भने सृष्टिको भूमिका केही गम्भीर र रहस्यमय देखिन्छ। अर्की अभिनेत्री नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा नयाँ आयाम थप्ने संकेत गरेको छ। टिजरले फिल्मको कथा सरल रेखामा अगाडि नबढी प्रशस्त ‘ट्विस्ट’सहित अघि बढ्ने संकेत गरेको छ। यसले दर्शकलाई कथासँग बाँधेर राख्ने अपेक्षा गरिएको छ।
निर्देशक रेखा थापाले यसअघिका फिल्ममा ‘एक्सन’ र ‘नारी शक्ति’लाई प्राथमिकता दिँदै आएकी थिइन्। तर, यसपटक उनले ‘इमोसनल ड्रामा’लाई रोजेकी छन्। टिजरमा प्रयोग गरिएका संवाद, ‘खुसी मेरो आँखामा देखियोस्, पीडा तिम्रो मनमा भए आँसु मेरै आँखाले बगाओस्’ले फिल्ममा भावनात्मक पक्षलाई प्राथमिकता दिइएको संकेत गर्छ।
दिल श्रेष्ठले आफ्नो साँचो प्रेम पाउलान् वा आफ्नो प्रेमका लागि बलिदान दिनेछन् भन्ने प्रश्नको उत्तर भने फिल्म प्रदर्शनपछि मात्रै थाहा हुनेछ। सुदीप बरालको सिनेमाटोग्राफीले फिल्मका दृश्यलाई जीवन्त बनाउने प्रयास गरेको छ। भदौ २६ गते रिलिज हुने फिल्मले प्रेममा परेकाहरू मात्र नभई परिवारका सदस्यलाई समेत हलसम्म तान्ने निर्माणपक्षको दाबी छ।
फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन्। लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ।
‘दिया एन्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन्। फिल्मले सुमधुर प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई उठान गर्ने निर्माणपक्षले जनाएको छ। ध्रुव लम्सालको पटकथा लेखन रहेको छ।
सुदीप बरालको छायांकन रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त सिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप तथा चुडामणी (सीएम) प्रोडक्सनमा छन्। फिल्मलाई देशभरका प्रमुख वितरक कम्पनी रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।










प्रतिक्रिया