सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सञ्जय राईको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘एक्का मिस्सी बादशाह’का लागि दुई मुख्य पुरुष कलाकारको आह्वान गरिएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै ‘कृष’ र ‘अर्जुन’ पात्रका लागि कलाकार खोजी गरेको हो । फिल्मको मुख्य भूमिकामा यसअघि नै अभिनेत्री साम्राज्ञी आरएल शाह अनुबन्धित भइसकेकी छन् । उनले फिल्ममा ‘आश’ पात्रको भूमिका निर्वाह गर्नेछिन्। निर्माण पक्षले साम्राज्ञीको जोडीका रूपमा प्रस्तुत हुने दुई पुरुष कलाकारको खोजी गरेको हो ।
निर्माण पक्षका अनुसार दुवै पात्रमा पर्दामा जीवन्तता, गहिराइ र वास्तविक भावना प्रस्तुत गर्न सक्ने कलाकारलाई प्राथमिकता दिइनेछ। ‘कृष’ र ‘अर्जुन’ पात्रका लागि २५ देखि ३५ वर्ष उमेर समूहका कलाकारले आवेदन दिन सक्नेछन् ।
‘कृष’ परिस्थितिवश विशेष सुविधा पाए पनि अपेक्षाको भारी बोकेर जन्मिएको र आफूलाई कुनै निश्चित परिभाषामा सीमित राख्न नचाहने पात्रका रूपमा प्रस्तुत हुनेछन्। त्यस्तै, ‘अर्जुन’ दबाबमा काम गर्ने, सधैं जिम्मेवार रहने र सीमितताभन्दा पर सोच्ने पात्रका रूपमा चित्रित हुने निर्माण पक्षले जनाएको छ।
अडिसनमा सहभागी हुन इच्छुक कलाकारले पोस्टरमा राखिएको क्यूआर कोडमार्फत आवेदन फाराम भर्न सक्नेछन्। त्यसपछि तोकिएको प्रक्रियाअनुसार अडिसन भिडियो बुझाउनुपर्नेछ। आवेदन बुझाउने अन्तिम मिति भदौ १४ अर्थात् अगस्ट ३०, २०२६ तोकिएको छ।
मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको फिल्म युवापुस्ताको कथामा आधारित हुनेछ। निर्देशक राईले साउन ९ गते काठमाडौंमा आयोजित कार्यक्रममा फिल्म निर्माणको घोषणा गरेका थिए। फिल्म उनकै लगानीमा निर्माण हुनेछ।
फिल्ममा सुदीप्ता कार्यकारी निर्माता, एलोन गुरुङ लाइन प्रोड्युसर र सुपथ श्रेष्ठ प्रोजेक्ट सुपरभाइजरका रूपमा छन्। आगामी फागुनबाट छायांकन सुरु हुने फिल्मको छायांकन नरेन्द्र मैनालीले गर्नेछन्। फिल्ममा निकेश कार्की र रोमन बज्राचार्यको संगीत, आशिम रानाभाटको स्टाइलिङ तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ।










प्रतिक्रिया