सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आगामी भदौ ५ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘मास्टर्नी’को अग्रिम टिकट बिक्री खुला गरिएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससहित केही अन्य मल्टिप्लेक्समा फिल्मका शो खुला गरिएको हो । फिल्मको प्रदर्शनको तीन दिनअघि नै शो खुला गरिएको र बुधबारसम्म शो संख्या क्रमशः बढ्दै जाने वितरक रोहित कट्टेलले जानकारी दिएका छन्।

क्राइम थ्रिलर विधामा निर्माण भएको फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘ए’ श्रेणीमा वर्गीकरण गरेको छ। ‘ए’ श्रेणीमा वर्गीकरण भएसँगै फिल्म १६ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन्।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्ममा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दीपकराज गिरी, दीपाश्री निरौला र अनुपविक्रम शाहीलगायत कलाकारको अभिनय छ।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी रहेको छ। फिल्मको कथा अभिनेत्री प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार गरेका छन्। संवाद लेखनमा प्रियंका र शानले सहकार्य गरेका छन्।

फिल्मलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ। रोहित शाक्य र त्रिशला गुरुङको संगीत रहेको फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका लागि रोयल भीमसेन र ज्ञानु संगम खड्काले तयार गरिरहेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com