सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘बुकी’मा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरिएको छ । विवशकुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको फिल्मको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो ।
भलिबल खेललाई केन्द्रमा राखेर तयार पारिएको ‘तनमनमा भलिबल’ सम्भवतः भलिबलकै विषयमा आधारित पहिलो नेपाली गीत हो । मोहन केसीको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा प्रमोद खरेल र रचना रिमालले स्वर दिएका छन् ।
भलिबलका लागि सम्पूर्ण जीवन समर्पित गर्ने खेलाडीको कथा तथा उनीहरूको संघर्षलाई गीतमा प्रस्तुत गरिएको छ । भलिबल खेलेर देश चिनाउने र आफू पनि परिचित हुने सपना बोकेका खेलाडीप्रति समर्पित गीतमा खेलका लागि गरिने त्याग, तपस्या र मेहनतलाई सम्मान गरिएको छ ।
गीतको भिडियोमा भलिबलप्रति खेलाडीको समर्पण, उत्कृष्ट खेलाडी बन्न गरिने अभ्यास, प्रतियोगिता तथा खेलप्रतिको आकर्षणलाई प्रस्तुत गरिएको छ । हिमाली तथा उच्च पहाडी गाउँमा भलिबलप्रति रहेको आकर्षणलाई समेत भिडियोमा देखाइएको छ ।
गीतको भिडियोमा गायक तथा अभिनेता देवेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् । बागलुङको ढोरपाटन तथा आसपासका रमणीय क्षेत्रलाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्स’को प्रस्तुतिमा निर्माण भएको ‘बुकी’मा सुरक्षा पन्त, देवेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन् । उनीहरूसँगै प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईंलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मको छायांकन काठमाडौं, पोखरा तथा विशेषगरी बागलुङको ढोरपाटनलगायत रमणीय क्षेत्रमा गरिएको छ । लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा निर्माता रहेको फिल्ममा प्रकाश आले र राजन केसी कार्यकारी निर्माता छन् । राजेश थापा र बसुन्धरा खरेल क्रिएटिभ प्रोड्युसर तथा जितु थापा र सुनील बुढाथोकी को–प्रोड्युसरका रूपमा रहेका छन् ।
फिल्ममा आशुका अर्याल एसोसिएट निर्देशक, आचार्य गोपाल चिफ असिस्टेन्ट निर्देशक तथा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी सहायक निर्देशकका रूपमा रहेका छन् । विकास गन्दर्भको डीओपी रहेको फिल्मलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । श्याम मल्लले श्रृंगार तथा थम्मन थापाले प्रोडक्सन हेडको जिम्मेवारी सम्हालेका छन् ।










प्रतिक्रिया