सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री हुन थालेको छ। नेपालमा प्रदर्शनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा अमेरिका र अस्ट्रेलियाका वितरकले फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन्।
सार्वजनिक गीत, टिजर तथा प्रचार सामग्रीका कारण विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्मको माग बढेपछि वितरकहरूले प्रदर्शन अधिकार खरिदमा रुचि देखाएका हुन्। निर्माण पक्षका अनुसार यसै साता अस्ट्रेलिया र अमेरिकाका लागि फिल्मको अधिकार बिक्री भएको हो।
अस्ट्रेलियामा आगामी ४ सेप्टेम्बरदेखि नमस्ते इन्टरटेन्मेन्टले फिल्म प्रदर्शन गर्नेछ। त्यसको एक सातापछि अर्थात् ११ सेप्टेम्बरदेखि माया डिजिटल युएसएले अमेरिकाका सिनेमा हलमा ‘पार्वती’ प्रदर्शन गर्नेछ।
फिल्मका निर्माता हरिहर अधिकारीका अनुसार आकर्षक रकममा अस्ट्रेलिया र अमेरिकाको प्रदर्शन अधिकार बिक्री गरिएको हो। नेपाली फिल्मलाई विश्वभरका दर्शकमाझ पुर्याउने अभियानमा अन्तर्राष्ट्रिय प्रदर्शनले थप उत्साह थपेको उनले बताए। प्रदर्शन हुने सहर तथा थिएटरको विस्तृत विवरण क्रमशः सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
फिल्मको मुख्य भूमिकामा निर्देशक नीता ढुङ्गाना स्वयं छिन्। उनीसँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ।
शिवम् अधिकारीको पटकथा रहेको फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन तथा टिजर र ट्रेलर कट र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेको फिल्मका निर्माता हरिहर अधिकारी हुन्।
नेपालमा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले फिल्मको वितरण जिम्मा लिएका छन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। फिल्ममा समावेश ‘तुनाको रेल’ र ‘दिदी भाइ’ गीत पछिल्लो समय चर्चामा छन्। नेपालमा भने ‘पार्वती’ आगामी भदौ १२ गते शुक्रबारदेखि हलमा प्रदर्शन हुँदैछ।










प्रतिक्रिया