सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अमेरिकी गायिका तथा गीतकार जेसिका लिन नेपाली कलाकारसँग विशेष सांगीतिक सहकार्य तथा प्रत्यक्ष प्रस्तुति दिन नेपाल आउने भएकी छन्। अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार उनी ‘आर्ट्स एन्ड म्युजिक एन्भोय प्रोग्राम’ अन्तर्गत नेपाल आउन लागेकी हुन्।

दूतावासका अनुसार कार्यक्रममा जेसिका लिन र नेपाली कलाकारले एउटै मञ्चमा प्रस्तुति दिनेछन्। लिनको विशेष पहिचान बनेको कन्ट्री-रक संगीतलाई नेपालको समृद्ध सांगीतिक परम्परासँग संयोजन गर्दै विशेष प्रस्तुति तयार गरिनेछ।

व्यावसायिक अनुभव आदानप्रदान र प्रत्यक्ष सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइएको उक्त कार्यक्रमले नेपालको विस्तार हुँदै गएको सिर्जनात्मक अर्थतन्त्रलाई सहयोग गर्ने दूतावासले जनाएको छ। साथै, यसले कलाकारबीचको सहकार्यलाई बलियो बनाउनुका साथै नेपाल र अमेरिकाबीच अर्थपूर्ण व्यावसायिक सम्बन्ध निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी हुन निःशुल्क दर्ता गर्न सकिने जनाइएको छ। दर्ता प्रक्रिया तथा कार्यक्रम र कन्सर्टसम्बन्धी विस्तृत जानकारी पछि सार्वजनिक गरिने दूतावासले जनाएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com