सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । बाजागाजासहितको भव्य उद्घाटन, चर्चित कलाकारका प्रस्तुति र मौलिक सांस्कृतिक कार्यक्रमसँगै काठमाडौँको जमलमा तीन दिनदेखि जारी ‘लोकदोहोरी मेला २०८३’ भव्य रूपमा सम्पन्न भएको छ । टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङको अवसरमा भदौ ५ गतेदेखि सुरु भएको मेला चर्चित लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
समापन समारोहको अन्तिम रात लोकदोहोरी गायक राजु परियार, शान्ता रानी परियार, शिव हमाल, श्याम रानालगायत कलाकारले प्रस्तुति दिएका थिए। कलाकारका लोकप्रिय गीतमा दर्शकले साथ दिँदा जमलस्थित विश्वज्योति मलको चौथो तला रात अबेरसम्म सांगीतिक माहोलमा गुञ्जिएको थियो।
मेलाको अन्तिम साँझ लोकदोहोरीसँगै नेपाली मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुतिले पनि दर्शकको ध्यान खिचेको थियो। विशेषगरी कौडा नृत्यलगायत मौलिक प्रस्तुतिले कार्यक्रमको रौनक थपेको थियो। तीन दिनअघि चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता दिनेश डीसीको प्रमुख उपस्थितिमा मेलाको उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा दुर्गेश थापा, बद्री पंगेनीलगायत कलाकार तथा अतिथिलाई बाजागाजासहित स्वागत गरिएको थियो।
उद्घाटनपछि ज्योती मगर, प्रीति आले, विश्व दोङ, बद्री पंगेनीलगायत कलाकारले प्रस्तुति दिएका थिए। पहिलो दिनमै दर्शकको उल्लेख्य चाप देखिएको थियो। टप दरबार रोधीको हल दर्शकले खचाखच भरिएको थियो।
त्यसपछिका दिनमा पनि लोकदोहोरीका स्थापित कलाकारदेखि नयाँ पुस्ताका कलाकारले निरन्तर प्रस्तुति दिएका थिए। तीन दिनसम्म चलेको मेलामा टप दरबार रोधीसँग आबद्ध करिब ६० कलाकारको समेत सहभागिता रहेको थियो। लोकदोहोरीका लोकप्रिय कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र रोधी परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ। स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई अवसर दिने तथा कलाकार र दर्शकबीचको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्य पनि मेलाको रहेको थियो।
टप दरबार रोधीका सञ्चालक अशोक गिरीका लागि भने यो तीनदिने मेला करिब २५ वर्ष लामो दोहोरी तथा रोधी यात्राको महत्वपूर्ण सुरुवात बनेको छ। बाउन्सर हुँदै दोहोरी साँझको व्यवस्थापनमा प्रवेश गरेका गिरीले लामो समयदेखि कलाकारलाई मञ्च उपलब्ध गराउँदै आएका छन्।
करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको टप दरबार रोधीमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ। क्लबका अनुसार यहाँ १०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। नेपाली मौलिक परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति, आधुनिक प्रविधि र पारिवारिक वातावरणलाई क्लबको विशेषताका रूपमा अघि सारिएको छ।
गिरीले रोधीलाई केवल मनोरञ्जनको स्थलका रूपमा नभई नेपाली लोकसंगीत, कलाकार र दर्शकबीचको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छन्। त्यसैअनुसार स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई पनि निरन्तर मञ्च दिने योजना क्लबको छ।
तीन दिनसम्म साँझदेखि बिहानसम्म चलेको मेलाले टप दरबार रोधीको औपचारिक सुरुवातलाई सांगीतिक उत्सवसँग जोडेको छ। भव्य उद्घाटनदेखि अन्तिम रातका मौलिक सांस्कृतिक प्रस्तुति र चर्चित कलाकारका प्रस्तुतिसम्म आइपुग्दा मेला नेपाली लोकसंगीत र संस्कृतिको उत्सवका रूपमा सम्पन्न भएको हो।
मेला सकिए पनि टप दरबार रोधीको नयाँ यात्रा भने यहीँबाट सुरु भएको सञ्चालक गिरीको भनाइ छ। कलाकारका लागि मञ्च, दर्शकका लागि सांगीतिक गन्तव्य र नेपाली लोकसंस्कृतिका लागि नयाँ थलो बनाउने लक्ष्यसहित रोधीलाई अघि बढाइने उनले बताए।










प्रतिक्रिया