सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘कस्तुरी’ को अन्तिम चरणको छायाङ्कन सुरु भएको छ । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्मको बाँकी छायाङ्कन आजदेखि काठमाडौंमा सुरु भएको निर्माण टिमले जानकारी दिएको छ ।
फिल्मको ९० प्रतिशत छायाङ्कन सकिएको र अब बाँकी १० प्रतिशत काम पनि चाँडै सम्पन्न गर्ने योजनासहित निर्माण टिम अघि बढेको हो । प्रतिकूल परिस्थितिका कारण केही समय ढिलाइ भएको फिल्मको काम अब भने तीव्र गतिमा अघि बढ्ने निर्माण टिमले जनाएको छ ।
ऋत बोहोराको निर्देशनमा बनेको फिल्ममा वर्षा र निखिलसँगै शेखर चापागाईं, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमको अभिनय छ । क्यामियो भूमिकामा गौरव पहारी र हेना नगरकोटी पनि देखिनेछन् ।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको पटकथा निर्देशक बोहोराले नै लेखेका हुन् । फिल्मका निर्माता धिरजकुमार अग्रवाल हुन् भने सह-निर्मातामा अञ्जली चौधरी छिन् ।
फिल्मका छायाकार आलोक शुक्ला हुन् भने सहायक निर्देशकको जिम्मेवारी ललित विष्टले सम्हालेका छन् । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने निर्माण व्यवस्थापनको जिम्मेवारी दिलीप पन्तले सम्हालेका छन् ।






प्रतिक्रिया