सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मार्भल स्टुडियोले बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्सः डुम्सडे’ लाई विभिन्न तरिकाले प्रचार गरिरहेको छ । ट्रेलर सार्वजनिक भएको केही सातापछि हालै मार्भलले दुई मिनेट १० सेकेन्ड लामो विशेष भिडियो सार्वजनिक गरेको छ, जहाँ डक्टर डुमको विशेष लुक्स देखाइएको छ ।

सार्वजनिक झलकमा फिल्मका मुख्य खलनायक डक्टर डुमको पृष्ठभूमिका साथै उनलाई रोक्न एभेन्जर्स र एक्स-मेनले गर्ने प्रयासलाई देखाइएको छ । डक्टर डुमको भूमिकामा रोबर्ट डाउनी जुनियर प्रस्तुत भएका छन् । विनाशले तहसनहस भएको संसारका दृश्यसमेत झलकमा समेटिएका छन् । रिड रिचर्ड्सको भूमिकामा रहेका पेड्रो पास्कलले उक्त विनाशका लागि डुम जिम्मेवार रहेको हो कि भनेर प्रश्न गर्छन् । एन्थोनी र जो रुसोको निर्देशनमा तयार भएको ‘एभेन्जर्सः डुम्सडे’लाई केभिन फाइगी, लुइस डी’एस्पोसिटो र जोनाथन स्वार्ट्जले निर्माण गरेका हुन् ।

फिल्ममा रोबर्ट डाउनी जुनियर, क्रिस इभान्स, क्रिस हेम्सवर्थ, पेड्रो पास्कल, पल रड, एन्थोनी म्याकी, फ्लोरेन्स प्यु, भेनेसा किर्बी, इबोन मोस–बाकराच, व्याट रसेल, च्यानिङ टेटम, सिमु लिउ, इयान म्याककेलेन, हेली एटवेल, टम हिडलस्टन, जेम्स मार्सडेन, प्याट्रिक स्टुअर्ट, जोसेफ क्विन, सेबास्टियन स्टान, डेभिड हार्बर, लेटिसिया राइट, लुइस पुलम्यान, केल्सी ग्रामर, क्याथरिन न्यूटन, ड्यानी रामिरेज, विन्स्टन ड्युक, एलन कमिङ, हाना जोन–केमेन, रेबेका रोमिजन, माबेल काडेना तथा टेनोच हुएर्टा मेहियालगायत कलाकारको अभिनय रहनेछ ।

‘एभेन्जर्सः डुम्सडे’मा तीन फरक ब्रह्माण्डका मार्भल हिरोहरू एकअर्कासँग टकरावमा पुग्नेछन् । उनीहरूले अहिलेसम्म सामना नगरेको अस्तित्वगत खतराका रूपमा प्रस्तुत गरिएको डक्टर डुमको सामना गर्नेछन् । सन् २०१९ मा ‘एभेन्जर्सः एन्डगेम’ रिलिज भएपछि यो पहिलो ‘एभेन्जर्स’ फिल्म भएकाले मार्भलका प्रशंसकमाझ यसलाई लिएर विशेष उत्साह देखिएको छ । ‘एभेन्जर्सः डुम्सडे’ आगामी डिसेम्बर १८ मा विश्वव्यापी प्रदर्शनमा आउनेछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com