सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता निखिल उप्रेतीको फिल्म ‘आचार्य’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको टिजरमा निखिललाई आकर्षक स्टन्ट र एक्सनसहित प्रस्तुत गरिएको छ । निखिलले ‘आचार्य’मा थप परिस्कृत र नयाँ शैलीको एक्सन प्रस्तुत गर्ने संकेत टिजरमार्फत दिएका छन् । नेपाली फिल्ममा यसअघि कमै देखिएका एक्सन तथा स्टन्टलाई समेटिएको टिजरमा एक्सनसँगै इमोसनलाई पनि प्राथमिकता दिइएको छ ।
टिजरमा निखिललाई फरक-फरक अवतारमा देख्न सकिन्छ । खतरनाक स्टन्टका कारण एक्सन किङको पहिचान बनाएका निखिलले ‘आचार्य’मा पनि जोखिमपूर्ण एक्सनलाई निरन्तरता दिएका छन् । टिजरमा समेटिएका उच्चस्तरका एक्सन र स्टन्टले फिल्मप्रति दर्शकको कौतुहलता बढाएको छ ।
‘आचार्य’ निखिल उप्रेतीको निर्देशनमा बन्ने दोस्रो फिल्म हो । फिल्ममा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ । पूर्णिका सिजापतिले यसै फिल्ममार्फत नव-नायिकाका रूपमा डेब्यु गर्दैछिन् ।
त्यस्तै, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै नेपाली कलाकार ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकारको अभिनय फिल्ममा रहेको छ ।
सौरभ लामा, मनु विक र नवराज थापाको छायांकन रहेको फिल्ममा शुक्रराज शाहले एक्सन निर्देशन गरेका छन् । बन्दे प्रसादले सम्पादन गरेको फिल्मको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन् ।










प्रतिक्रिया