सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘तिरिमिरी झ्याइँ’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । ३५ दिन लामो छायांकन तालिकापछि सोमबार कोशी प्रदेशको सुनसरीस्थित बराहक्षेत्रमा अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन सकिएको हो । निर्माता बोगटीले फिल्मको सम्पूर्ण छायांकन सकिएको जानकारी दिँदै अब तत्काल सम्पादनको काम सुरु गरिने बताए । निर्माण पक्षले फिल्म यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी गरेको छ ।
आभास अधिकारीको कथा तथा अवधारणा र समीरको निर्देशनमा तयार भइरहेको ‘तिरिमिरी झ्याइँ’ पारिवारिक, मनोरञ्जनात्मक तथा सामाजिक विषयवस्तुमा आधारित रहेको निर्माण पक्षले जनाएको छ । फिल्मले समकालीन समाजका विभिन्न रमाइला तथा ठट्यौली पक्षलाई रोचक शैलीमा प्रस्तुत गर्नेछ ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन् । फिल्ममा अभिनेता धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा, घनश्याम जोशीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
फिल्ममा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सह–निर्माताका रूपमा जोडिएका छन् । विशाल कक्षपतिको छायांकन रहेको फिल्ममा अभिषेक कार्की संगीतकार छन् । गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद लेखेका हुन् । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्मको पोस्टर तथा प्रचार सामग्रीको डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्नेछ ।










प्रतिक्रिया