सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली ब्याण्ड १९७४ एडीले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ पुनः सुरु गर्ने भएको छ । ब्याण्डले यसपटक ‘रक यात्रा’लाई अन्तर्राष्ट्रियटुरका रूपमा अघि बढाउँदै अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिने भएको हो ।

टुरको औपचारिक घोषणा बिहीबार गरिएको हो । अष्ट्रेलियाका आठ प्रमुख सहरमा आयोजना हुने टुर सेप्टेम्बर र अक्टोबरसम्म सञ्चालन हुनेछ । टुरअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिस्बेन, एडिलेड, पर्थ, न्यु क्यासल, अकल्यान्ड र क्यानबेरामा ब्याण्डले प्रस्तुति दिनेछ। आयोजकका निर्देशक राजेश घिमिरेका अनुसार टुरको तयारी लगभग पूरा भइसकेको छ।

करिब २० वर्षअघि काठमाडौंको त्रिभुवन रंगशालामा आयोजना गरिएको ‘रक यात्रा’ नेपाली सांगीतिक इतिहासकै चर्चित कन्सर्टमध्ये एक मानिन्छ । उक्त कार्यक्रममा ५० हजारभन्दा बढी दर्शक सहभागी भएको बताइन्छ । टिकट नपाएर धेरै दर्शक फर्किनुपरेको उक्त कन्सर्टको चर्चा अझै पनि नेपाली संगीत क्षेत्रमा हुने गरेको छ ।

यसपटकको टुरमा १९७४ एडीले दुई दशकअघिको चर्चित सेट लिस्टलाई समेत समावेश गर्ने तयारी गरेको छ । पुराना लोकप्रिय गीतसँगै ब्याण्डको सांगीतिक यात्रालाई नयाँ पुस्तामाझसमेत पुर्‍याउने उद्देश्यले टुर आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ब्याण्डका प्रमुख भोकलिस्टद्वय एड्रियन प्रधान र फिरोज स्याङदेन, बास गिटारिस्ट निराकर याक्थुम्बा तथा लिड गिटारिस्ट मनोजकुमार केसी उपस्थित थिए ।

प्रमुख भोकलिस्ट एड्रियन प्रधानले लामो समयपछि ‘रक यात्रा’का रूपमा टुर गर्न पाउँदा खुसी लागेको बताए । आफूहरूले समय-समयमा विभिन्न टुर गर्दै आए पनि १९७४ एडीको ‘रक यात्रा’लाई पुनः अगाडि बढाउन पाउँदा विशेष उत्साह रहेको उनको भनाइ थियो । फिरोज स्याङदेनले पनि अष्ट्रेलिया टुरका लागि आफूहरू निकै उत्साहित रहेको बताए ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com