सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गायक सुशान्त केसी अहिले ‘पाहुना टूर’को सिलसिलामा अस्ट्रेलिया र न्युजिल्यान्ड भ्रमणमा छन्। टूरकै क्रममा नेपालमा भोटेकोशी नदीमा विनाशकारी बाढी आएको थियो।

जनधनको व्यापक क्षति हुने गरी आएको बाढीका कारण सुशान्तको सांगीतिक कार्यक्रमसमेत प्रभावित भएको थियो। त्यसपछि उनले आफ्नो टूर अब मनोरञ्जनको माध्यम मात्र नभई दुःखमा परेका आफ्ना मानिसको साथमा उभिने र मातृभूमिप्रतिको जिम्मेवारी पूरा गर्ने माध्यम बनेको बताएका थिए।

संगीतमा मानिसहरूलाई एक ठाउँमा ल्याउने शक्ति रहेको बताउँदै उनले विपद्को समयमा आवश्यक परेका व्यक्तिलाई सहयोगको खाँचो रहेकाले सबै एकजुट भएर उभिनुपर्ने बताएका थिए।

उनले लेखेका थिए, ‘सहयोग सानो–ठूलो भन्ने हुँदैन। सहयोग गर्ने ठाउँमा रहेकाले आफ्नो तरिकाले मद्दत गर्न सक्नुहुनेछ।’ त्यसक्रममा सुशान्तले बाढी प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। घोषणाअनुसार नै केसीले आइतबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा प्रदान गरेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com