सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । काठमाडौंको जडीबुटीस्थित ‘क्लब १८’मा आगामी भदौ १७ गते (सेप्टेम्बर २) र्‍यापर डिके सागर (यादव सरकार)को ‘लाइभ विथ सेलो नाइट’ आयोजना हुने भएको छ। आयोजकका अनुसार कन्सर्टको डोर सेल्सबाट संकलित रकम बाढीपीडितको राहत तथा सहयोगमा खर्च गरिनेछ।

‘जनचेतना’ बोलको मैथिली र्‍यापमार्फत चर्चामा आएका र्‍यापर यादव सरकारको कन्सर्टमा मुख्य प्रस्तुति रहनेछ। कार्यक्रममा गायक आश्रम थिङ र गायिका अनिशा तामाङले पनि प्रस्तुति दिनेछन्।

मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई जोडेर कार्यक्रम आयोजना गर्न लागिएको क्लब १८ का सञ्चालक सुजन श्रेष्ठले बताए । उनका अनुसार कन्सर्टको डोर सेल्सबाट उठेको रकम बाढी प्रभावित परिवारको राहत तथा सहयोगमा प्रयोग गरिनेछ ।

‘देशका विभिन्न ठाउँमा बाढी र प्राकृतिक विपत्तिका कारण धेरै नागरिक प्रभावित भएका छन्। यस्तो अवस्थामा कलाकार र संगीतप्रेमीलाई एउटै ठाउँमा जोडेर कार्यक्रमबाट उठेको रकम पीडितको सहयोगमा प्रयोग गर्ने उद्देश्य हो। संगीतमार्फत सामाजिक सहयोग गर्ने हाम्रो सानो प्रयास हो’, सञ्चालक श्रेष्ठले भने।

कन्सर्ट राति ८ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा सहभागी हुन अनलाइन टिकट बुकिङको व्यवस्था गरिएको आयोजकले जनाएको छ। आयोजकले संगीतप्रेमीलाई कार्यक्रममा सहभागी हुँदै बाढीपीडितको सहयोगमा योगदान गर्न आग्रह गरेका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com