सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत असोज ९ गतेदेखि प्रदर्शनरत फिल्म ‘बाः एक योद्धा’ले प्रदर्शनको १० दिनमा दुई करोड रुपैयाँको हाराहारीमा ग्रस कलेक्सन गरेको छ । फिल्मले आइतबार असोज १८ गतेसम्म एक करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रस कलेक्सन गरेको हो । फिल्म १० दिनमा ६५ हजार ५ सय ६० दर्शकले हेरेको चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ मा तथ्यांक रहेको छ ।

फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो भएकाले दर्शकको चाप हरेक दिन बढ्दै गएको निर्देशक हरि लम्सालले बताएका छन् । ‘शो थपिने क्रम बढ्दै गएको छ। फिल्म राम्रो छ र हेर्नैपर्ने भन्ने दर्शकको प्रतिक्रिया आइरहेको छ’, उनले भने, ‘त्यसैले अबका दिनमा दर्शकले हाम्रो फिल्मलाई थप साथ दिनुहुने विश्वास छ ।’

फिल्मको कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्ध अवस्थामा उनीहरूले पाउने उपेक्षा र दुःखसम्मका विषयलाई फिल्मले कथाको केन्द्रमा राखेको छ ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ।

फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह-निर्माताका रूपमा छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com