सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भुवन केसीको निर्देशनमा निर्माण भएको फिल्म ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको छ। गीतमा युग भुसालको शब्द तथा संगीत र तृषा चटर्जी तथा हिमांशु जान शर्माको स्वर छ। गीतको भिडियोमा विक्रम स्वारले कोरियोग्राफी गरेका छन्।

भुवन केसी फिल्म निर्माणको भव्यताका लागि चिनिन्छन्। उनले छनोट गर्ने गीत र तिनको छायांकनमा देखिने उदारता पनि यही भव्यताको हिस्सा हुन्। ‘मेरो मन चोर्‍यौ सुटुक्कै’मा उनले आफ्नो पुरानो शैलीलाई निरन्तरता दिएका छन्। गीतको अडियो श्रुतिमधुर छ भने भिडियो पनि रोचक ढंगले तयार पारिएको छ।

सामान्य गीतका भिडियोभन्दा फरक यस गीतले फिल्मको टिजरमा देखाइएको कथा र परिवेशलाई थप अगाडि बढाउने प्रयास गरेको छ। भिडियोमा देखिने खोला किनार, घुम, डन्डिबियो र मकैबारीजस्ता स्थानले दर्शकलाई पुरानो समयको झल्को दिन्छन्।

गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। टिजरमा अनमोलको लुक सार्वजनिक भएपछि धेरैले उनलाई उनका पिता भुवन केसीको झल्को दिने प्रतिक्रिया दिएका थिए। गीतले पनि यो धारणालाई थप बल पुर्‍याउने देखिन्छ। अनमोलको हाउभाउ र अभिनय शैलीले भुवन केसीका पुराना गीतहरूको सम्झना गराउँछ।

यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी प्रिन्सीले पनि आफ्नो प्रस्तुति र भावभङ्गिमाबाट दर्शकको ध्यान खिचेकी छन्। गीतका शब्दअनुसार उनले देखाएको अभिव्यक्ति र हाउभाउले पुरानो समयकी अभिनेत्री कृष्टि केसीको झल्को दिन्छ।

भुवन केसीको दोस्रो निर्देशकीय फिल्ममा उनी स्वयं र गरिमा पन्तको पनि अभिनय छ। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्म आगामी कात्तिक २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत छ। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। विवेक थापा फिल्मका सहनिर्माता हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com