सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जोम्बी फिल्म ‘टनेल २६’ गत शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । प्रदर्शनको पूर्व सन्ध्यामा यसको भव्य प्रिमियर पनि गरियो । तर, प्रिमियर भएकै रात निर्माण पक्षले अचानक फिल्मको प्रदर्शन स्थगित गर्ने निर्णय गर्‍यो ।

बिहीबार मध्यरातमा निर्माता कम्पनी सांगे सेल्ट्रिम फिल्म्स र पिक एक्सभीले संयुक्त विज्ञप्ति जारी गर्दै फिल्मलाई विश्वव्यापी रूपमा एकसाथ प्रदर्शन गर्ने तयारीका लागि तत्काललाई प्रदर्शन स्थगित गरिएको बताइयो । जारी विज्ञाप्तिमा फिल्म नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शन गरिने उल्लेख छ।

निर्माण पक्षले प्रदर्शन स्थगित गर्नुको कारण विश्वव्यापी रिलिजको तयारीलाई बताए पनि प्रिमियरमा फिल्म हेरेका दर्शकले भने प्राविधिक कमजोरी औँल्याएका थिए । प्रिमियरमा सहभागी अधिकांशले फिल्मको स्वरांकन (डबिङ) र लिपसिङ्कमा गम्भीर समस्या रहेको प्रतिक्रिया दिएका थिए । यसले फिल्मको समग्र गुणस्तरमा असर पारेको प्रतिक्रिया आएपछि निर्माण पक्षले प्रिमियरकै राति आकस्मिक बैठक बसेर प्रदर्शन स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।

भुटानी भाषामा निर्माण भएको ‘टनेल २६’लाई नेपाली भाषामा पनि डबिङ गरिएको छ । तर, फिल्मको नेपाली डबिङको गुणस्तर कमजोर देखिएको छ । संवादमा आवाजको स्पष्टता नहुनु, डबिङको गुणस्तर कमजोर हुनु र केही दृश्यमा संवाद नै छुटेको जस्तो देखिनुले फिल्मको प्राविधिक पक्षमाथि प्रश्न उठाएको छ । भुटानी कलाकारका पात्रमा दिइएको नेपाली आवाज पनि स्वाभाविक सुनिँदैन, भुटानी संवादलाई एआईको मदतले नेपाली भाषामा रुपान्तरण गरे जस्तो सुनिन्छ ।

फिल्मको अर्को प्रमुख समस्या संवाद र पात्रको लिपसिङ्क अर्थात् ओठको चाल नमिल्नु हो। फिल्मका विभिन्न दृश्यमा देखिएको यो समस्याले पोस्ट प्रोडक्सनको काममा पर्याप्त ध्यान नदिइएको संकेत गर्छ। पोस्ट प्रोडक्सनमा नेपाली निर्माता र कलाकारको प्रत्यक्ष संलग्नता नहुनु पनि यसको एउटा कारण हुन सक्ने अनुमान गरिएको छ। अब फिल्मको नेपाली संस्करण पुनः डबिङ गर्ने तयारी गरिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com