सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपालको सर्वाधिक सफल फ्रेन्चाइजमध्ये एक हो, ‘कबड्डी’ । मण्डला नाटकघर स्थापना भएकै समयमा निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ बनाउने योजना सुनाएपछि निर्देशक निश्चल बस्नेत र अभिनेता दयाहाङ राईसहितको टिमले फिल्मको पहिलो शृंखला तयार गरेको थियो । शृंखला बढ्दै गएपछि यसको दर्शक र व्यापार पनि बढिरह्यो ।
‘हामीसँग पर्याप्त पैसा नभए पनि जोडजाम गरेर फिल्म बनाउने निधो गरी काम ग¥यौँ । ‘कबड्डी’को कथा नयाँ थियो, यसले नयाँ शैलीलाई परिचित गरायो। त्यसबाट हामीले व्यावसायिक रूपमा समेत लाभ लिन सक्यौँ’, अभिनेता राईले भने ।
उक्त फिल्ममा उनले काजीको भूमिका निर्वाह गरेका छन् । आफ्नी सोल्टिनीलाई चोखो माया गर्ने भए पनि काजीलाई प्रेम व्यक्त गर्ने शैली थाहा हुँदैन । यही कारण उनले विभिन्न अड्चन भोग्नुपर्छ । फिल्मका शृङ्खला थपिँदै गए, दर्शकको संख्या बढ्दै गयो । घरेलु बजारसँगै डायस्पोरामा पनि फिल्मले आफ्नो दर्शक बनायो । तर, काजीको प्रेममा आउने अड्चन भने शृङ्खलासँगै बढ्दै गए ।
‘कबड्डी’लाई प्रेमकथामा आधारित फिल्मका रूपमा लिन सकिने राई बताउँछन् । ‘कबड्डी एकोहोरो प्रेम गर्ने काजी नामक पात्रको कथा हो । उसले मन पराएको मान्छेलाई इमानदारीपूर्वक प्रेम गर्छ, तर प्रेम व्यक्त गर्ने शैली मिलाउन सक्दैन। यही कारण उसको शैलीमा दर्शकले हास्यरस पाउनुभयो। यस्तो प्रेम गर्ने मान्छे पनि छन्, हुन्छन् । हामीले नियमितभन्दा फरक काम गर्ने कोसिसकै सिलसिलामा काजी पात्रको उदय भएको हो’, अभिनेता राईले भने ।
त्यसो त ‘कबड्डी’ को चौथो शृङ्खलालाई ‘फाइनल म्याच’ भन्दै तयार गरिएको थियो । दर्शकले पनि त्यसलाई अन्तिम शृङ्खलाका रूपमा लिएका थिए । त्यसको प्रभाव बक्स अफिसमा समेत देखियो । फिल्मले नेपालमा मात्रै करिब २४ करोड रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको थियो । तर, निर्देशक रामबाबु गुरुङले ‘आफ्टर द फाइनल म्याच’ नाम दिँदै ‘कबड्डी’को नयाँ शृङ्खला तयार गरेका छन् । दसैँलाई लक्षित गर्दै फिल्म आगामी कात्तिक ६ गते प्रदर्शनमा आउँदै छ ।
नयाँ शृङ्खला निर्माण गर्नुको कारण दर्शकको माया र अपेक्षा रहेको निर्देशक गुरुङ बताउँछन् । ‘हामीले निर्माण गरेका पात्रसँग दर्शक भावनात्मक रूपमा जोडिनुभएको छ । ती पात्रको हामीलाई मात्र नभई दर्शकलाई पनि माया लाग्छ । तर, यही कारण नयाँ शृङ्खला आएको होइन । छलफलका क्रममा एउटा कथा भेट्यौँ र पाँचौँ शृङ्खला बन्यो’, निर्देशक गुरुङले भने ।
अभिनेता राई पनि काजीलाई फरक स्वरूपमा दर्शकमाझ ल्याउन चाहन्छन् । उनी काजीको युवा अवस्थासँगै वृद्धावस्थाको समय, परिवेश र मनोविज्ञानलाई समेत पर्दामा उतार्न चाहानछन् ।
‘हामीले काजीको युवा अवस्था देख्यौँ, प्रेमप्रतिको इमानदारी देख्यौँ। तर, समयसँगै त्यो पात्र पनि परिवर्तन हुन्छ। जब उसमा दायित्व आउँछ र परिपक्व हुन्छ, त्यसपछि उसले के गर्छ, उसको स्वभाव कस्तो हुन्छ? त्यो परिवेश र समयलाई निर्वाह गर्न मन छ’, अभिनेता राईले भने।
अभिनेता राईको विचारमा निर्देशक गुरुङ पनि सहमत छन् । उनीसमेत ‘कबड्डी’का पात्रलाई फरक स्वरूपमा पर्दामा ल्याउन चाहन्छन् । ‘दयाजीले भनेझैँ मलाई पनि ती पात्रको परिपक्वता देखाउने रहर छ । तर, त्यसका लागि पात्रहरू नै एउटा उमेरमा पुग्नुपर्छ । त्यसपछि पात्रको बाहिरी स्वरूपसँगै परिवर्तन भएको मनोविज्ञानलाई पर्दामा चित्रण गर्न सकिन्छ’, निर्देशक गुरुङले भने ।
निर्देशक गुरुङ अब ‘कबड्डी’लाई एउटा दशक भने रोक्न चाहन्छन् । त्यसपछि काजीसहितका पात्रहरूको अर्धवैशे उमेरको कथा भन्ने उनको योजना छ । बासुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, कमलमणि नेपाल, अरुणा कार्कीलगायतको अभिनय छ । रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सागर राज हुन् ।







प्रतिक्रिया