सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता सलमान खानले आफ्नो आधिकारिक युट्युब च्यानल ‘बिइङ द सलमान खान’ सुरु गरेका छन् । उनले नयाँ च्यानलमार्फत बालबालिकालाई लक्षित मनोरञ्जनात्मक तथा शैक्षिक सामग्री प्रस्तुत गर्ने योजना बनाएका छन् ।
सलमान हाल चर्चित रियालिटी शो ‘बिग बोस २०’ सञ्चालन गरिरहेका छन् । यसैबीच उनले नयाँ युट्युब च्यानल सुरु गरेका हुन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले च्यानलको उद्देश्य र यसमा समावेश गरिने सामग्रीबारे जानकारी दिएका छन् ।
सलमानले आफ्नो च्यानलमा राखिने सामग्री सबै दर्शकका लागि नहुन सक्ने उल्लेख गर्दै यो विशेषगरी साना बालबालिकालाई ध्यानमा राखेर तयार गरिएको बताएका छन्। च्यानलमा मनोरञ्जनसँगै प्रेम, परिवार र शिक्षासम्बन्धी सामग्री पनि समावेश गरिनेछ।
एक्समा उनले लेखेका छन्, ‘मेरो युट्युब च्यानल हेर्नुभएकोमा धन्यवाद। मलाई थाहा छ, यहाँको सामग्री अहिले तपाईंहरूका लागि नहुन सक्छ। तर, यो तपाईंहरूका साना बालबालिकाका लागि हो भन्ने कुरा पनि बुझ्नुहुन्छ होला। हेरौँ, यो कस्तो हुन्छ। थोरै रमाइलोसँगै प्रेम, परिवार र शिक्षा पनि बालबालिकाका लागि आवश्यक छन्, होइन र?’
‘बिइङ द सलमान खान’ च्यानलको पहिलो भिडियोमा सलमानका दुई फरक रूप प्रस्तुत गरिएको छ। भिडियोमा एक सलमान प्रशिक्षकको भूमिकामा देखिएका छन् भने अर्का विद्यार्थीका रूपमा प्रस्तुत भएका छन्। विद्यार्थीको भूमिकामा रहेका सलमानले प्रशिक्षकबाट आफ्नो विशेष शैली, हाउभाउ, शारीरिक भाषा र संवाद बोल्ने तरिका सिकिरहेको देखाइएको छ।
यसरी सलमानले पर्दामा स्थापित आफ्नो लोकप्रिय व्यक्तित्वलाई मनोरञ्जन र सिकाइसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरेका छन्। बालबालिकाले मनोरञ्जनसँगै नयाँ कुरा सिक्न सक्ने सामग्री उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको यस च्यानलले दर्शकमाझ कस्तो प्रभाव पार्छ, त्यो भने आगामी दिनमा स्पष्ट हुनेछ।







प्रतिक्रिया