सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । वरिष्ठ अभिनेता नाना पाटेकरको मृत्युको कारण खुलेको छ । पोस्टमार्टम रिपोर्टअनुसार उनको मृत्यु हृदयाघातका कारण भएको हो । उनको निधन अक्टोबर ८ मा भएको थियो । गोवाको बाम्बोलिमस्थित गोवा मेडिकल कलेजका चिकित्सकहरूको टोलीले सोही दिन अस्पताल प्रशासनलाई पोस्टमार्टम रिपोर्ट बुझाएको थियो ।
पोस्टमार्टम रिपोर्टअनुसार नानाको कोरोनरी धमनीमध्ये एउटामा रगत जमेर मुटुमा रक्तप्रवाह अवरुद्ध भएको थियो । यही कारण उनको मृत्यु भएको रिपोर्टमा उल्लेख छ ।
प्रहरीको अनुसन्धानअनुसार मृत्यु हुनुअघि नानाले आफ्ना पारिवारिक साथी अमे नाइकलाई सन्देश पठाएर आफूलाई सञ्चो नभएको बताएका थिए। त्यसपछि नानाको अवस्था बुझ्न नाइक उनको घर पुगेका थिए।
अक्टोबर ८ को बिहान करिब ५:३० बजे नाना पाटेकरलाई डोना पाउलास्थित मणिपाल अस्पतालमा मृत अवस्थामा पुर्याइएको जानकारी पानाजी प्रहरी चौकीलाई दिइएको थियो। त्यसपछि प्रहरीले घटनासम्बन्धी विवरण दर्ता गरेको थियो।
नानाको शव पोस्टमार्टमका लागि बाम्बोलिमस्थित गोवा मेडिकल कलेज अस्पताल लगिएको थियो। साक्षीहरू र उनका भतिजा प्रसाद पाटेकरको उपस्थितिमा आवश्यक प्रक्रिया पूरा गरिएको थियो। उनका छोरा मल्हारले पोस्टमार्टम गर्न सहमति दिएका थिए।
तीन वरिष्ठ चिकित्सक सम्मिलित टोलीले पोस्टमार्टम गरेको थियो। उक्त टोलीले मृत्युको कारण खुलाउँदै अस्पताल प्रशासनलाई रिपोर्ट बुझाएको हो।
प्रहरी अनुसन्धानका क्रममा खुलेको विवरणअनुसार नानाले बिहान करिब २:३० बजे पारिवारिक साथी अमे नाइकलाई ह्वाट्सएपमार्फत सन्देश पठाएका थिए। उनले आफूलाई सञ्चो नभएको बताएका थिए। तर, उक्त सन्देशको तत्काल जवाफ आएको थिएन।
पछि नानाको हेरचाहमा खटिएका व्यक्तिले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन नाइकलाई फोन गरेका थिए। नाइकले बिहान करिब ३:३० बजे सन्देश देखेपछि तत्काल डोना पाउलास्थित नानाको घर पुगेको बताइएको छ। त्यहाँ पुग्दा उनले नानालाई पूरा लुगा लगाएर सोफामा बसिरहेको अवस्थामा फेला पारेका थिए।
त्यसपछि एम्बुलेन्स बोलाइएको थियो। एम्बुलेन्समा राखिएको केही समयपछि नाना बेहोस भएका थिए। उनलाई बिहान करिब ४:३० बजे अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।







प्रतिक्रिया