सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टोलीले ललितपुरस्थित लबिम मलमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा काजीको वैवाहिक जीवन, काजी र मैयाको सम्बन्धका नयाँ पाटा तथा विपिन कार्कीको भूमिकालाई यसअघि सार्वजनिक टिजरभन्दा थप स्पष्ट र मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ।

बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा शान्ति होटल खोलेर नयाँ व्यवसाय सुरु गरेको ट्रेलरमा देखाइएको छ। व्यवसाय सुरु गरेपछि कथाले नयाँ मोड लिन्छ। सृजना गुरुङले निर्वाह गरेको नयाँ मैयाको पात्रसँग काजीको विवाह भएको दृश्यले कथामा थप ट्विस्ट ल्याएको छ।

त्यस्तै, काजीको टोली र गाउँमा प्रवेश गरेको विपिन कार्कीको रैथाने गुन्डा समूहबीचको टकराव, एक्सन र कमेडीले ट्रेलरलाई थप रोचक बनाएको छ। ट्रेलरको अन्त्यतिर काजी र मैया एउटै गाडीमा कतै गइरहेको दृश्यले दर्शकमा थप कौतूहल सिर्जना गर्छ।

यसअघि सार्वजनिक टिजरमा पुरानै कथाको निरन्तरतासँगै काजी र मैयाको जीवनमा आउने नयाँ मोड, बीकेको प्रविधिसँगको रमाइलो सम्बन्ध र विपिन कार्कीको दमदार प्रवेशले दर्शकमाझ उत्सुकता बढाएको थियो। टिजरपछि धेरै दर्शकले मिरुना मगरले निर्वाह गरेको शान्ति मिसको पात्रबारे चासो देखाएका थिए। ट्रेलरमा मिरुना पनि देखिएकी छन्। यसले फिल्मको कथामा थप ट्विस्ट र रहस्य रहेको संकेत गर्छ।

काजीको पारिवारिक जीवनमा आउने परिवर्तन, शान्ति मिसको भूमिकाबारेको चासो र विपिन कार्कीको प्रस्तुतिले फिल्मप्रति दर्शकको प्रतीक्षा थप बढाउने अपेक्षा गरिएको छ।

‘कबड्डी’ शृङ्खलाका अघिल्ला चार फिल्मले बक्स अफिसमा सफलता हासिल गरेका थिए। यही लोकप्रियतालाई निरन्तरता दिने लक्ष्यसहित निर्माण गरिएको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यस वर्षको दसैँको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सृजना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

फिल्मका मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन्। नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले फिल्म वितरण गर्नेछन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com