सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै देशभर उत्साह र उमङ्ग छाएको छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको दसैँ नेपाली समाजको मौलिक पहिचानसँग जोडिएको प्रमुख चाड हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ।
दसैँ धार्मिक आस्थाको पर्व मात्र होइन, पारिवारिक पुनर्मिलनको विशेष अवसर पनि हो। रोजगारी, अध्ययन तथा अन्य कारणले घरपरिवारबाट टाढा रहेका सदस्यहरू यही अवसरमा घर फर्किने गर्छन्। परिवार, आफन्त र साथीभाइबीच भेटघाट हुने भएकाले यस पर्वले आपसी सद्भाव, प्रेम र एकतालाई थप बलियो बनाउँछ। मान्यजनबाट रातो टीका र जमरा ग्रहण गर्दै सुख, शान्ति, समृद्धि तथा दीर्घायुको आशीर्वाद लिने परम्परा नेपाली समाजमा विशेष महत्त्वका साथ कायम छ।
तर सबैका लागि दसैँको खुसी र उल्लास उस्तै हुँदैन। कसैका लागि यो पर्व पुराना सम्झनासँग जोडिएको छ भने कसैका लागि कामकै व्यस्तताबीच मनाउनुपर्ने बाध्यता छ। नेपाली फिल्म क्षेत्रका कलाकारहरूका लागि पनि यस वर्षको दसैँ फरक–फरक योजनासहित आउँदै छ। कोही परिवारसँग समय बिताउने तयारीमा छन् भने कोही फिल्म प्रदर्शनका कारण दर्शकमाझ पुग्ने योजनामा छन्।
अभिनेता राजेश हमालका लागि दसैँ अरूका जस्तो उल्लासपूर्ण छैन। दसैँको टीकाकै दिन आमालाई गुमाएका हमालले यो पर्व सामान्य रूपमा मनाउँदै आएका छन्। ‘दसैँको दिन मैले मुमा (आमा) गुमाएपछि मेरा लागि यो पर्वको उल्लास कम नै भएको छ । टीकाकै दिन श्राद्ध पर्ने भएकाले सामान्य रूपमा दसैँ मनाउने गर्छु। यो वर्ष प्राकृतिक विपद्का कारण धेरै नेपालीको दसैँ खल्लो भएको सुनेको छु। तर संस्कृति संरक्षणका रूपमा यसलाई मनाउनु पनि पर्छ, किनकि यो पर्व हाम्रो संस्कृतिसँग जोडिएको छ’, हमालले भने।
उनले दसैँलाई तडकभडक र भड्किलो शैलीमा भन्दा पनि आफ्नो क्षमताअनुसार सादगीपूर्ण रूपमा मनाउन सबैलाई आग्रह गरेका छन्। अभिनेता विजय बराल यसपटक दसैँ मनाउन आफ्नो गृह जिल्ला सर्लाही जाने तयारीमा छन्। विविध कारणले विगत केही वर्ष दसैँमा घर जान नपाएका उनी फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को प्रचारप्रसारको व्यस्तताबीच पनि समय मिलाएर गाउँ पुग्ने योजनामा छन्।
‘यस वर्षको दसैँ सर्लाहीमै मनाउने तयारीका साथ म घर पुग्दै छु। यता फिल्म प्रमोसनका काम सकाएर घर पुगेर दसैँ मनाउनेछु। यद्यपि, फिल्म प्रदर्शन कात्तिक ६ मा हुने भएकाले टीका लगाएपछि काठमाडौं नै आइपुग्नेछु। विगतका केही वर्ष विविध कारणले घर पुग्न सकेको थिइनँ। यसपटक गाउँघरमा दसैँ मनाउने योजनाले नै खुसी मिलिरहेको छ’, बरालले भने।
दसैँ भन्नेबित्तिकै उनलाई बाल्यकालमा लगाउने नयाँ कपडा, मीठा परिकार र परिवारसँगको जमघट सम्झना आउँछ। उनका लागि दसैँको सबैभन्दा सुन्दर पक्ष नै परिवारका सदस्य र साथीभाइसँगको भेटघाट हो ।
अभिनेत्री विपना थापा पनि यसपटक दसैँमा दर्शकमाझ बढी समय बिताउने तयारीमा छिन्। उनको मुख्य अभिनय रहेको फिल्म ‘आ बाट आमा २’ असोज ३० गतेदेखि प्रदर्शनमा आउने भएकाले उनी परिवारसँगभन्दा हलमा दर्शकसँग भेटघाट गर्न व्यस्त हुनेछिन्।
‘फिल्म प्रदर्शनको कारण दसैँमा पनि हलमै घुमघाम गर्ने योजना बनिरहेको छ। आफ्ना मान्यजनबाट टीका थापेपछि हलमै दर्शकलाई भेट्नेछौँ। दसैँ भनेको उज्यालो, सद्भाव र हर्षको पर्व हो। विभिन्न कामले व्यस्त भएका सदस्यहरू भेटघाट गर्ने भएकाले यो पर्व मलाई खास लाग्छ’, उनले भनिन्।
विवाहपछि प्रायः भारतमा बस्दै आएकी थापा यसपटक भने नेपालमै दसैँ मनाउँदै छिन्। फिल्म प्रदर्शनको व्यस्तताबीच पनि दर्शकसँगको भेटघाट उनका लागि पर्वको विशेष हिस्सा बन्नेछ।
निर्देशक मिलन चाम्स भने यसपटक दसैँमा परिवारसँग विदेश घुम्ने योजनामा छन्। वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘म मदनकृष्ण’ को पहिलो चरणको छायाङ्कन पूरा गरेका चाम्सले दसैँको समय परिवारलाई दिने तयारी गरेका हुन्।
‘दसैँमा परिवार लिएर नेपालबाहिर घुमघाम गर्नेछु। फिल्मको कामले प्रायः परिवारलाई समय दिन सकिरहेका हुँदैनौँ, त्यसैले समय मिलेको बेला परिवार लिएर घुम्ने गर्छु। हामीले फिल्मको पहिलो चरणको छायाङ्कन सकाएका छौँ। दोस्रो चरण दसैँपछि हुनेछ, त्यसैले समयको सदुपयोग गरेको हुँ’, उनले भने।
फिल्म निर्माणको व्यस्तताबीच परिवारलाई पर्याप्त समय दिन नपाउने भएकाले दसैँलाई उनले पारिवारिक घुमघामको अवसरका रूपमा लिएका छन्। अभिनेता तथा निर्माता दीपकराज गिरीका लागि यसपटकको दसैँ पनि व्यस्त रहनेछ। असोज ३१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘छ माया छपक्कै २’ का कारण उनी टीका लगाएपछि हलमा पुगेर दर्शकसँग समय बिताउने तयारीमा छन्।
‘फिल्म प्रदर्शनको समय भएकाले बिहानदेखि मध्यरातसम्म हलमै भेटिन्छु। टीका लगाएपछि बाँकी समय दर्शकसँगै दसैँ मनाउने तयारी छ। अघिल्लो वर्ष फिल्म आएको थिएन, त्यसैले परिवारसँग बढी समय बिताइयो। यो वर्ष फिल्म आउने भएकाले हाम्रो दोस्रो परिवार दर्शकसँग बढी समय बिताउनेछु’, उनले भने।
गिरीका लागि पनि दसैँको विशेषता परिवारका सदस्य र साथीभाइसँगको भेटघाट नै हो। तर यस वर्ष फिल्म प्रदर्शनको जिम्मेवारीले उनको चाडपर्वको तालिका फरक बनाउनेछ।







प्रतिक्रिया