बिकास रौनियार / सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मलाई चिया असाध्यै मन पर्छ । कहिलेकाहीँ जीवनका सानातिना रुचिले पनि अविस्मरणीय क्षणसँग भेट गराउँदा रहेछन् । मेरो जीवनमा त्यस्तै एउटा संयोग चियाकै कारण जुरेको थियो, जसले मलाई भारतीय फिल्मका महान् अभिनेता दिलीप कुमारसँग भेट्ने अवसर दिलायो ।
डिसेम्बर २००४ को कुरा हो । प्रख्यात निर्देशक तथा अभिनेता सुनील पोखरेलको नेतृत्वमा रहेको गुरुकुल नाट्य समूहसँगै म बहरामपुर, कोलकाता र अगरतलाको भ्रमणमा सहभागी थिएँ । नाटक र यात्राको आफ्नै व्यस्तता थियो। तर, कोलकातामा बिताएको एउटा साँझ मेरो स्मृतिमा सधैँका लागि अंकित हुन पुग्यो ।
त्यतिबेला हामी कोलकाताको साल्ट लेक स्टेडियममुनि रहेको छात्रावासमा बसेका थियौँ । रातिको खाना खाइसकेपछि म युवराज घिमिरे, प्रवीण खतिवडा र नाट्य समूहका केही साथीहरूसँग चिया खोज्दै बाहिर निस्किएँ । चिया पिउने सामान्य चाहनाले हामीलाई बाहिर डोर्याएको थियो । तर, त्यहाँ पुग्दा हामीले मानिसहरूको ठूलो भीड देख्यौँ ।
के भइरहेको रहेछ भनेर बुझ्दै जाँदा स्टेडियमभित्र एउटा कार्यक्रम चलिरहेको र त्यसमा भारतीय फिल्मका महान् अभिनेता दिलीप साब पनि उपस्थित रहेको थाहा भयो । उहाँ हाम्रै नजिकबाट बाहिर निस्कने सम्भावना थियो । हामी सबै उहाँका प्रशंसक थियौँ । त्यसैले उहाँको एक झलक पाउने आशामा त्यहीँ पर्खिने निर्णय गर्यौँ ।
धेरै बेर कुर्नुपरेन । केही समयपछि दिलीप साब बाहिर निस्कनुभयो र आफ्नो गाडीतर्फ अघि बढ्नुभयो । मेरो हातमा क्यामेरा थियो । उहाँलाई नजिकबाट देख्ने अवसरलाई खेर जान नदिई म अगाडि बढेँ । उहाँ गाडीमा चढेर जानुअघि नै केही तस्बिर खिच्न सफल भएँ ।
त्यो भेट पूर्वनिर्धारित थिएन । उहाँसँग भेट्ने कुनै योजना थिएन, न त उहाँलाई भेट्न भनेर हामी त्यहाँ पुगेका थियौँ । चिया खोज्दै निस्किएको एउटा सामान्य साँझले मलाई भारतीय फिल्मका इतिहासकै प्रभावशाली अभिनेतामध्ये एकसँगको सम्झना दियो ।
फोटो पत्रकारका रूपमा क्यामेरा बोकेर हिँड्दा यस्ता संयोगले कहिलेकाहीँ जीवनकै अमूल्य क्षणहरू कैद गर्ने अवसर दिँदा रहेछन् । मेरा लागि दिलीप साबसँगको त्यो आकस्मिक भेट त्यस्तै एउटा अविस्मरणीय क्षण हो ।
दिलीप साबको नेपाल भ्रमणको सम्झना
दिलीप कुमार साबसँग जोडिएको मेरो स्मृतिमा कोलकाताको त्यो साँझ मात्रै छैन, उहाँको नेपाल भ्रमणको प्रसंग पनि छ। सम्भवतः सन् १९८४ तिर उहाँ छोटो भ्रमणका लागि काठमाडौं आउनुभएको थियो। त्यतिबेला म प्रत्यक्ष रूपमा उहाँको स्वागत समारोहमा सहभागी थिइनँ, तर मेरा हजुरबुबा शिवप्रसाद रौनियारले सुनाउनुभएका प्रसंग अझै सम्झनामा छन्।
एभरेस्ट होटलका मालिक मशकुर अहमद लारीले दिलीप साबको सम्मानमा आयोजना गर्नुभएको स्वागत समारोहमा मेरा हजुरबुबा सहभागी हुनुभएको थियो । त्यस अवसरमा दिलीप कुमार साबले प्रख्यात लेखक डायमण्ड शमशेर राणालगायत नेपालका विभिन्न विशिष्ट व्यक्तित्वहरूसँग भेटघाट गर्नुभएको थियो ।
त्यही भेटघाटका क्रममा राणाको चर्चित उपन्यास ‘सेतो बाघ’मा आधारित फिल्म निर्माण गर्ने विषयमा समेत छलफल भएको बताइन्छ । तर, विभिन्न कारणले त्यो योजना अघि बढ्न सकेन । यो प्रसंग सम्झँदा भारतीय फिल्म र नेपाली साहित्यबीच सम्बन्ध विस्तार गर्ने सम्भावना त्यसबेलै देखिएको अनुभूति हुन्छ । यद्यपि, त्यो सम्भावना फिल्मका रूपमा साकार हुन पाएन।
भारतीय फिल्मका अविस्मरणीय अभिनेता
दिलीप कुमारको वास्तविक नाम मुहम्मद युसुफ खान थियो । उहाँको जन्म ११ डिसेम्बर १९२२ मा भएको थियो भने निधन ७ जुलाई २०२१ मा भयो । भारतीय फिल्म उद्योगमा उहाँ दिलीप कुमार नामले परिचित हुनुभयो ।
मुख्यतः हिन्दी फिल्ममा गरेको अभिनयका कारण उहाँले व्यापक ख्याति कमाउनुभयो । अभिनयमा पात्रको मनोविज्ञान, भावना र आन्तरिक द्वन्द्वलाई सूक्ष्म रूपमा प्रस्तुत गर्ने शैलीका कारण उहाँलाई भारतीय फिल्ममा मेथड एक्टिङको विकास र लोकप्रियतामा महत्त्वपूर्ण योगदान पुर्याउने अभिनेताका रूपमा लिइन्छ।
सन् १९५० र १९६० को दशकमा उहाँले भारतीय फिल्ममा उल्लेखनीय प्रभाव कायम गर्नुभयो। उहाँको अभिनय शैली, पात्र छनोट र पर्दामा प्रस्तुत गर्ने भावनात्मक गहिराइले पछिका पुस्ताका कलाकारलाई समेत प्रभावित गरेको छ।
मेरो लागि भने दिलीप साब केवल पर्दामा देखिने महान् अभिनेता मात्र हुनुहुन्न । उहाँसँग जोडिएको एउटा व्यक्तिगत स्मृति पनि छ, डिसेम्बरको त्यो साँझ, कोलकाताको भीड, हातमा क्यामेरा र चिया खोज्दै निस्कँदा अचानक जुरेको भेट ।
कहिलेकाहीँ जीवनका ठूला सम्झनाहरूका पछाडि कुनै भव्य योजना हुँदैन । एउटा सामान्य इच्छा, एउटा संयोग र सही समयमा हातमा भएको क्यामेरा नै पर्याप्त हुन्छ। मेरो जीवनमा चियाले जुराएको दिलीप कुमार साबसँगको भेट त्यसैको उदाहरण हो ।







प्रतिक्रिया