सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु भएको छ । निर्देशक नवीन चौहानले भारतको सिक्किमस्थित युमथाङ उपत्यकाबाट फिल्मको छायांकन सुरु गरेका हुन् ।

निर्देशक चौहानले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सुरु भएको जानकारी दिएका छन् । उनका अनुसार स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभमुहूर्त सम्पन्न गरी छायांकन थालिएको हो । छायांकनको पहिलो दिन सोमबार अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिचिएको उनले बताएका छन् ।

छायांकन शुभारम्भका अवसरमा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति थियो । निर्देशक चौहानले उक्त अवसरमा प्राप्त साथ र आशीर्वादप्रति आभार व्यक्त गरेका छन् ।

निर्देशक चौहानका अनुसार ‘ऊनको स्वीटर’ले दर्शकको मनमा छोडेका कथा, पात्र र अनुभूतिलाई अझ फराकिलो संसारमा विस्तार गर्ने उद्देश्यले ‘कलेजी-ऊनको स्वीटर’ निर्माण गर्न लागिएको हो। नयाँ फिल्ममा काफ्ले, फूल, डम्बर र ईक्क्षाका कथासँगै प्रेम, जीवन र मानवीय संवेदनाका थप आयाम प्रस्तुत गरिनेछ।

नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायांकन गर्ने योजनासहित अघि बढेको फिल्मले ‘ऊनको स्वीटर’सँग जोडिएका कथा र पात्रलाई नयाँ परिवेशमा विस्तार गर्नेछ। आर्टमाण्डुको निर्माणमा बन्ने फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गर्दैछन्। अभिषेक सुवेदी सहलेखक तथा प्रमुख सहायक निर्देशकका रूपमा छन् भने छायांकनको जिम्मेवारी चिन्तन राजभण्डारीले सम्हालेका छन्। फिल्ममा कोविद बज्रको संगीत रहनेछ।

फिल्ममा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई र रुश्मा राईलगायत कलाकारको अभिनय रहनेछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com