सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म ‘पाँच पाण्डव’ आजदेखि प्रदर्शन भएको छ । आफू स्वर्गबाट आएको बताउने युधिष्ठिरले भीम, अर्जुन, नकुल र सहदेवलाई खोजिरहेको कथालाई प्रस्तुत गरिएको फिल्मलाई सुशील पौडेलले लेखेका हुन् ।
फिल्ममा युधिष्ठिरको भूमिकामा हरिवंश आचार्य देखिएका छन् भने अन्य कलाकारहरूमा जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, इभा गिरी, सरिता गिरी लगायतको अभिनय रहेको छ ।
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म तिहारको अवसर पारेर प्रदर्शन भएको हो । निर्देशक निरौलाका अनुसार दर्शकले फिल्ममा डल्बी एटमस प्रविधिको ध्वनि अनुभव गर्न पाउनेछन्।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा नेपाली फिल्म क्षेत्रका अनुभवी तथा नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन्। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य पाँच पाण्डवको भूमिकामा छन्।
त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि अभिनय रहेको छ। फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन्।
महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नु फिल्मको उद्देश्य रहेको उनले बताएका छन्। श्याम तामाङको छायांकन रहेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ। गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्।






प्रतिक्रिया