सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र एक मुठी बादल: माई सेयर अफ स्काईको टिजर सार्वजनिक भएको छ । आँचलको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजर चलचित्रकी मुख्य कलाकार आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरो घुमेको छ । कवितासँगै टिजरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराएको छ । निर्माण टिमले टिजरलाई आँचलको जन्मदिनको उपहारको रुपमा सार्वजनिक गरेको जनाएको छ ।
यो कविता चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ । सहाराका अनुसार उनले यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गरेकी थिइन् जुन उनले लगभग बिर्सिसकेकी थिइन् । तर चलचित्रको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो । सहारा भन्छिन्, – यो त्यतिबेला फर्कियो जतिबेला चलचित्रलाई यसको सबैभन्दा बढि आवश्यकता थियो । त्यसबेला देखि नै यो कविता चलचित्रको अभिन्न अंग बनेको छ ।

अभिनेत्री आँचल शर्माले चलचित्र एक मुठ्ठी बादल आफ्ना लागि विशेष रहेको बताउँदै यसको पहिलो झलक जन्मदिनकै सन्दर्भ पारेर आउनु मीठो संयोग रहेको बताइन् । ‘अरु चलचित्रमा म अरु कोही भूमिका निर्वाह गरिरहेको हुन्छ तर यो चलचित्रको माइली मै हो । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि शब्दमा भन्न सकिँदैन । यो चलचित्र मेरा लागि एकदमै स्पेसल छ,’ उनको भनाइ छ ।
चलचित्रमा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।
चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन , अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप रहेको छ । चलचित्रमा मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।
चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको छ। चलचित्रलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।






प्रतिक्रिया