सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  बैशाख ११ गतेबाट हलमा लागेको चलचित्र ‘परालको आगो’को सुरुवाती दिनमै सुखद ओपनिङ गरेको छ। शुक्रबार नै चलचित्रले ३७ लाख भन्दा बढिको ग्रस कलेक्सन गरेको हो। फिल्मका निर्माता सुशील पोखेलले बिज मुभिजमा पत्रकारहरु माझ फिल्मको ओपनिक कलेक्सन ३८ लाख नजिक रहेको चलचित्र बताएका हुन्।

उनले कलेक्सन सहितको डाटा देखाउदै भने,‘ हिजो ‘परालको आगो’ले एकैदिन ३७ लाखभन्दा माथी व्यापार गरेको छ। आज हिजोको भन्दा बढि दर्शकको चाप हलमा देखिन्छ। आज हिजोको भन्दा बढि कलेक्सन आउने सम्झनाव छ।’

उनी आफ्नो चलचित्रको ग्रस कलेक्सनले एकै दिनमा यति धेरैको व्यापार गरेकोमा खुशी देखिए। उनी थप्छन्,‘यो सुखद् व्यापार हो। दर्शकले फिल्म हेरेपछि दोहोर्‍याएर हेर्नुहुन्छ।’

उनी आफ्नो चलचित्रप्रति एकदमै विश्वास विश्वस्त देखिएका छन्। फिल्मका निर्देशक लक्ष्मण सुनार आफुले कथा अनुसार सक्दो प्रयास गरेको बताए। चलचित्रका वितरक रोहित कट्टेल फिल्ममा दर्शकको उत्साह निकै बढेको जानकारी दिए।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी,शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्। बाल कलाकार मन्जिलाको अभिनय पनि दर्शकले एकदमै रुचाएका छन्।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील पोखरेलले लगानी गरेका हुन्। उनी कलाकारसँगसँगै हलमा दर्शकसँग भेटेर चलचित्रको प्रतिक्रिया लिइरहेका छन्। उनीसँगै चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटा पनि हलमा पुगेका छन्। लेखक देवकोटाले आफुले लेखेको फिल्मप्रति दर्शकको धारणा एकदमै पोजेटिभ आएको भन्दै खुशी व्यक्त गरे।

लक्ष्मण सुनारले निर्देशन गरेको यस चलचित्रमा संकल्प भुजेलको छायांकन,रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ। साथै रंग संयोजन कनाल कँवरको छ।

समिर मिया र सत्यम रानाले चलचित्रमा भिएफएक्स गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ। त्यसैगरि चलचित्रको मिक्सिङ मुकेश शाह,निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।
यस चलचित्रको पाश्र्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

यसै चलचित्रमा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदको छ। आर आर फिल्मसले नेपालभरका हलमा वितरण गरेको यो चलचित्रको डिजिटल अधिकार ओएसआरको छ।
स्मरण रहोस् यो चलचित्र गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’बाट लिइएको हो। यसअघि प्रताप सुब्बाको निर्देशनमा पनि चलचित्र निर्माण भएको थियो।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com