सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘काजी’को दोस्रो पोेस्टर सार्वजनिक भएको छ । आइतबार निर्माण टिमले फेसबुकमार्फत चलचित्रको दोस्रो पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको प्रेमिल भावमा देखिएका छन् ।
उनीहरू एक अर्काको अँगालो हालिरहेको अवस्थामा प्रस्तुत छन्, जसले सिनेमाको कथा गहिरो प्रेम, सम्बन्ध र जीवनका संघर्षहरूमा केन्द्रित रहेको संकेत दिन्छ । तस्बिरमा विपीनले परम्परागत ढाका टोपी, सर्ट र गञ्जी लगाएको देखिन्छ भने केकी रातो सारी, हरियो ब्लाउज, सिन्दूर र टीकासहित प्रस्तुत भएकी छिन् । यसले नेपाली संस्कृति र पारिवारिक सम्बन्धको झल्को दिन्छ ।
पृष्ठभूमिमा गाउँघरको वातावरण, तोरीको फूलहरूले भरिएको खेत र पुरानो शैलीको भवन देखिन्छ, जसले चलचित्र ग्रामीण परिवेशमा आधारित हुनसक्ने अनुमान गर्न सकिन्छ । सम्पूर्ण पोष्टरको रंग संयोजन र प्रस्तुति निकै आकर्षक र सिनेम्याटिक शैलीमा तयार गरिएको छ, जसले दर्शकमा उत्सुकता थप बढाएको छ ।
राम प्रसाद रिजालको प्रस्तुति रहेको चलचित्र लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । निर्माण टिमका अनुसार सिनेमा एक भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले
मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटाहरूलाई उजागर गर्ने प्रयास गर्नेछ ।
विपीन र केकीसहित चलचित्रमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय गरेका छन् ।
यसअघि चलचित्रको एक पोस्टर र प्रीभ्यू सार्वजनिक भइसकेको छ । पोस्टर र प्रीभ्यू सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शकहरूले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका छन् र यसले सिनेमाप्रति अपेक्षा समेत बढ्दै गएको छ । योसँगै निर्माण पक्षले छिट्टै ट्रेलर र अन्य प्रचार सामग्री सार्वजनिक गर्ने जनाएको छ ।
रिजाल एन्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र प्रदीप भारद्धाजको लेखेका हुन् । चिन्तन राजभण्डारीले छायांकन गरेको चलचित्रमा कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर र सुजिल कर्माचार्यको पार्श्व संगीत, नृत्य निर्देशक कविराज गहतरज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपीन मल्ल रहेका छन् ।
असिम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रका निर्मातामा नेहान रिजाल र विकाश राज जोशी छन् । श्रीराम बालाजी फिल्मस्ले देशव्यापी रिलिज गर्नेछ ।







प्रतिक्रिया