सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – एक मुठ्ठी बादलको परिवारको सबैभन्दा कान्छो सदस्य हुन् अविरल प्रताप अधिकारी । चलचित्रमा मात्र होइन सुटिङ युनिटमा पनि अविरल सबैभन्दा कान्छो सदस्य नै थिए । तर एक मुठ्ठी बादलमा सबैभन्दा पहिला अडिसन दिनेमा चाहिँ अविरल पहिलो थिए ।
विश्वका विभिन्न ल्याब हुँदै सुटिङमा निस्किएको चलचित्रले पटकथालाई अहिलेको स्वरुपमा ढाल्न नै ६–७ वर्ष खर्चिएको थियो । यही क्रममा निर्माण टिमले भाइको चरित्रको लागि अविरलको अडिसन लिएको थियो ।
‘त्यतिबेला म जम्मा १७ वर्षको थिएँ । न अभिनयको ज्ञान थियो न पूर्व अनुभव । दुई पेजको सिन आफ्नो विवेकले अभिनय गरेर पठाएको थिएँ । निर्देशक सहारा दिदीले पछि खबर गछौँ भन्नु भएको थियो । त्यसको ५ वर्षपछि बल्ल खबर आयो । फेरि एक चोटि अडिसन दिएपछि बल्ल मैले यो चलचित्रमा काम गर्ने अवसर पाएँ,’ अविरलले सुनाए ।
तर अडिसनबाट छानिएको दिनलाई उनले जीवनकै अविस्मरणीय क्षणको रुपमा लिएका छन् । किनकि चलचित्रमा अभिनय गर्ने उनको सपना मात्र यो चलचित्रले पूरा गरेको थिएन, जीवनको पहिलो प्लेन पनि चढाएको थियो ।

अविरल भन्छन्, ‘यो चलचित्रको सुटिङमा पोखरा जाँदा मैले पहिलो पटक प्लेन चढेको थिएँ । एडभेन्चर लागेको थियो । त्योबाहेक यो चलचित्रको सेटको अनुभव पनि स्मरणीय रह्यो । सुटिङ सकिएको दिन त म भावुक भएर रोएको पनि थिएँ ।’
त्यसो त अविरलले बिरासतमै कलाकारिताका गुण लिएर आएका हुन् । चर्चित कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारी उनका हजुरबा हुन् भने कार्यक्रम निर्देशक एवं कमेन्टेटर अमनप्रताप अधिकारी उनका बुबा । परिवारको यही बिरासत पछ्याउँदै उनले नाटक हुँदै चलचित्रमा पाइला चालेका हुन् । एक मुठ्ठी बादलपछि उनले पारी बुटोलमा पनि महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।
चलचित्रमा घरकोे एक्लो छोरो र दिदीहरुको पुलपुलिएको भाइको रुपमा अभिनय गरेका अविरल वास्तविक जीवनमा उति पुलपुलिएका छोरा वा भाइ होइनन् । । घरमा उनी दिदीका भाइ हुन् तर चलचित्रमा दिदी बन्ने उषा रजक र आँचल शर्माभन्दा उनको दिदीसँगको सम्बन्ध फरक छ ।
‘मैले पर्दा बाहिर बोल्ने शैली फरक छ तर चलचित्रमा मैले बेग्लै हिसाबले बोलेको छु । घरमा दिदीसँग हुर्किएकाले चलचित्र भित्रको दिदी भाइको डायनामिक्स बुझ्न सजिलो भयो । तर त्यो भाइ अर्कै हो भने चलचित्रको भाइ अर्कै हो,’ अविरलले भने ।
तर आफ्नो चरित्रलाई धेरै दिदीभाइले रिलेट गर्ने अविरल बताउँछन् । अविरलका अनुसार आफ्नो मात्र होइन चलचित्र भित्रका हरेक सदस्यले हाम्रो परिवारका भिन्न भिन्न सदस्यको आत्मा समातेका छन् । जुन चरित्र हेरे पनि दर्शकलाई आफूले देखेको महसुस हुने अविरलको बुझाइ छ । यही अनुभवका लागि पनि एक मुठ्ठी बादल हेर्नु पर्ने उनको जिकिर छ ।

‘यसको पटकथा नै नेपाल भरिका सम्पूर्ण परिवारमाथि रिसर्च गरेर लेखे जस्तो छ । त्यसैले यसका हरेक चरित्र वास्तविक लाग्छन् । यसमा भाइको चरित्र अझ स्पेसल छ,’ अविरल हाँस्दै सुनाउँछन् ।
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको एक मुठ्ठी बादल जेठ १ देखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा निशा शर्मा, शेखर चापागाँई, आँचल शर्मा, उषा रजक, मनिष निरौला, गौरव बिष्ट, सहयोग राज अधिकारी, भिमा मैनाली, अस्मिता गौतम आदिको अभिनय रहेको छ ।







प्रतिक्रिया