सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहीँ शुक्रबारदेखि प्रदर्शनमा आइरहेको चलचित्र ‘एक मुठ्ठी बादल ‘को प्रिमियर बुधबार सम्पन्न भएको छ। महिला नौमति बाजा समुहको नौमति बाजामा चलचित्रकी मुख्य अभिनेत्री आँचल शर्माले डिजाइनर मनिस राई द्वारा तयार गरिएको रातो रंगकै गाउन र लामो घुम्तो लगाएर बेहुली सरह प्रिमियरमा प्रवेश गरेकी थिइन्।

साहारा शर्माद्वारा निर्देशित यस चलचित्रको प्रिमियरमा पनि चलचित्रमा जस्तै महिलाको उपस्थितिलाई केन्द्रमा राखेको देखिन्थ्यो।

चलचित्रमा आँचल शर्माले ‘माइली’ को भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारीको रमझम छ। उनको पात्रमार्फत विवाहसँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेनशील ढंगले प्रस्तुत गरिएको छ। चलचित्रले मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक चित्रण गरेको कारण दर्शकबाट प्रशंसा पाएको थियो।

निर्देशक सहारा शर्माले भनिन्, “एक मुठ्ठी बादल नेपाली चलचित्रमा प्रायजसो नदेखाइने महिलाका भावना र अनुभवहरूमा आधारित छ।”
निर्माताअभिमन्यू दिक्षित, सामिप्य राज तिमल्सेना, निकुन श्रेष्ठ र अनुप पौडेलले निर्देशकसँगै अतिथिहरूलाई स्वागत गरेका थिए।

दर्शकहरूले चलचित्रको कथावस्तु, अभिनय तथा कथावाचन शैलीको खुलेर प्रशंसा गरे। साँझको कार्यक्रम कलाकार तथा निर्माण टिमसँग सञ्चारकर्मीहरूको अन्तरक्रिया सत्रसँगै सम्पन्न भएको थियो, जहाँ चलचित्र निर्माण, प्रतिनिधित्व तथा समकालीन सिनेमामा स्थानीय कथाहरूको महत्त्वबारे छलफल केन्द्रित रहेको थियो।

“हामीले मनदेखि एउटा चलचित्र बनाएका छौं। अब यसलाई हेर्ने, यसको बारेमा कुरा गर्ने र अझ धेरै दर्शकमाझ पुर्‍याउने जिम्मा तपाईंहरूको हो,” निर्माता अभिमन्यु दीक्षितले थपेका थिए।

एक मुठ्ठी बादल यहीँ शुक्रबारदेखि प्रदर्शनमा आउनेछ भने दर्शकहरूले टिकट बुक गर्न पनि सक्नेछन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com