सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – स्टाइलिस अभिनेता सलिनमान बनियाँ नयाँ चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ (UOG) मार्फत पर्दामा फर्किने तयारीमा छन्। तर, यसपटक चलचित्रमा उनको जोडी को हुन् र उनी कस्ती छिन् भन्ने चासो दर्शकमाझ निकै बढेको छ। सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा सलिनमानले एक जापानी नायिकासँग रोमान्स गर्दैछन्।

चलचित्र युनिटका अनुसार ‘युनिभर्सिटी अफ गुण्डाज’ मा सलिनमानको जोडीका रूपमा जापानी नायिका मीना यसोदा पक्का भएकी छन्। उनलाई निर्माण टिमले चलचित्रको अभिनेत्रीका रुपमा अनुबन्ध गरिसकेको छ। नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि (बुवा नेपाली र आमा जापानी) भएकी मीना हाल जापानमै बस्दै आएकी छन्। निर्माण पक्षले उनको बारेमा थप विवरण भने गोप्य नै राखेको छ।

केही समयअघि सार्वजनिक भएको चलचित्रको ‘फर्स्ट लुक’ ले यो चलचित्र पछिल्लो समय बनिरहेका अन्य नेपाली फिल्मभन्दा फरक र विशेष हुने संकेत गरिसकेको छ। अभिनेता सलिनमान आफैंले लेखेको कथामा बनिरहेको यस चलचित्रलाई सुरेश न्यौपानेले निर्देशन गरिरहेका छन्। चलचित्रको मुख्य भूमिकामा सलिनमान र मीनाका साथै सलोन बस्नेत पनि देखिनेछन्।

निर्माण पक्षले हालसम्म चलचित्रका अन्य कलाकार र प्राविधिकको नाम सार्वजनिक गरेको छैन। ‘फर्स्ट लुक’ सार्वजनिक गरेर दर्शकको प्रतिक्रिया बुझेपछि मात्र प्रदर्शन मिति तोक्ने निर्माण टिमको आशय देखिन्छ।

चलचित्रको मुख्य प्राविधिक टोलीमा सौरभ लामा (डिओपी), मन्दिप गौतम (स्क्रिन प्ले), रोमन बज्रचार्य (ब्याकग्राउण्ड स्कोर), सम्राट बस्नेत (एक्सन निर्देशन), मनोज श्रेष्ठ (भिएफएक्स), बन्दे प्रसाद (सम्पादन तथा ट्रेलर), मुकेश शाह (साउण्ड डिजाइन) र राजेन्द्र मोक्तान (कलर) रहेका छन्। चलचित्रको व्यवस्थापनतर्फ प्रोडक्सन म्यानेजरमा सुवास काफ्ले र असिस्टेन्ट प्रोडक्सन म्यानेजरमा केवलमान सिंह बस्नेत कार्यरत छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com